कर्मचारी र शिक्षकलाई आयोगको कडा निर्देशन : उम्मेदवारको पोष्टमा लाइक,कमेन्ट गर्न रोक
वि.सं.२०७९ असोज २५ मंगलवार १७:४५
shares

काठमाडौं, २५ असोज । निर्वाचन आयोगले आगामी निर्वाचनको लागि कर्मचारी र शिक्षकलाई कडा निर्देशन दिएको छ । आयोगका प्रवक्ता सालिग्राम शर्मा पौडेले जारी गरेको निर्देशनात्मक आचार सहितामा कुनै पनि उम्मेदवारको पोष्टमा लाइक र कमेट समेत नगर्न निर्देशन दिएको हो ।
निर्वाचन आचारसंहिता २०७९ को अनुगमन गर्दा कतिपय सरकारी कर्मचारी तथा शिक्षक/प्राध्यापकहरूले राजनीतिक दल र उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो । प्रचारप्रसारमा संलग्न कर्मचारी र शिक्षकहरूले उम्मेदवारसँग तस्बिर खिचाउने, बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवारका प्रचार सामग्रीलाई शेयर र लाइक गर्ने गरेका घटनाहरू अनुगमनका क्रममा पाइएकाले आयोगले कारबाही सुरु गरेको सूचनामा उल्लेख गरिएको छ ।
निर्वाचन आचारसंहितामा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने र सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष–विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसार सामग्री पोस्ट वा शेयर गर्न वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने व्यवस्था गरिएको आयोगले स्मरण गराएको छ । आयोगको यो निर्देशनको पालना नगरेमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम स्पष्टीकरण सोधेर आवश्यक कारबाहीको प्रक्रिया अघि बढाइने आयोगले जनाएको छ ।




















