Dhulikhel Eco Banner new

उदयपुर–२ मा जगन्नाथलाई भारी बन्न सक्छन् अम्बर

10.22K
shares

काठमाडौं, २६ असोज । उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ मा यस अघि माओवादी नेता सुरेश कुमार राई (हिमाल) निर्वाचित भएका थिए । तर, यस पटक भने यो क्षेत्र एकिकृत समाजवादीको भागमा परेको छ । यस क्षेत्रमा नेकपा एसबाट जगन्नाथ खतिवडा उम्मेदवार बनेका छन् भने एमालेले अम्बर रायमाझीलाई उम्मेदवार बनाएको छ ।

खतिवडा र रायमाझी कुनै बेलाका राजनीतिक सहयात्री हुन् । रायमाझी भन्दा खतिवडा एमालेमा सिनियर नेताका रुपमा थिए । आगामी मंसिर ४ मा हुने निर्वाचनमा यी दुई नेताहरुको कडा टक्कर हुँदैछ । चार दलीय गठबन्धनका साझा उम्मेदवार बनेको भए पनि जगन्नाथलाई संसद यात्रा तय गर्न सहज भने छैन ।

यस क्षेत्रमा माधव नेपाल नेतृत्वको समाजवादी कमजोर छ । तुलनात्मक हिसाबमा माओवादीको निकै पकड भएको क्षेत्र हो । यस अघि यस क्षेत्रबाट प्रतिनिधि सभामा माओवादीकै राई र प्रदेश सभामा २ (क) कला घले र (ख) पनि माओवादी नेता नारायण बुर्जा मगर निर्वाचित भएका थिए ।

यस हिसाबले खतिवडालाई चुनाव जित्न माओवादीले खुलेरै सहयोग गर्नुपर्ने हुन्छ । गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कटारी नगरपालिकामा माओवादी नेता दिवस कटुवाल उपमेयरमा उठेका थिए । तर उनले जित हासिल गर्न सकेनन् ।

माओवादी नेतालाई चुनाव हराउनका लागि जगन्नाथले राम्रै भूमिका खेलेको कतिपय माओवादी नेताहरु बताउछन् । यस हिसाबमा माओवादीले बदला लिने हो भने जगन्नाथ होइन एमाले उम्मेदवार अम्बरले चुनाव जित्नेछन् ।

तर, जगन्नाथसँग बदला लिने सोचमा नरहेको माओवादी नेताहरु बताउछन् । ‘जगन्नाथ जीले अत्याचार नै गर्नु भएको हो, तर वैगुनीलाई गुनले मार्नुपर्छ हामी उहाँ जस्तो बद्मासी गर्दैनौँ’ माओवादीका एक नेताले भने ।

जगन्नाथ हार्दा एमालेले जित्ने भएका कारण पनि जगनान्थलाई नै खुलेर भोट हाल्ने पार्टीको नीति रहेको ति नेताले सुनाए । माओवादी र कांग्रेसले धोका नदिएको अवस्थामा भने जगन्नाथको संसद यात्रा अम्बरले रोक्न सक्दैनन् ।

यस्तो छ स्थानीय निर्वाचनको अंक गणित

उदयपुर–२ मा सत्ता गठबन्धनका वडाध्यक्षका उम्मेदवारले प्राप्त गरेको मत हेर्दा ३ हजार ६६ मतले अघि छ। सत्ता गठबन्धनको मत २२ हजार ९७३ रहेको छ भने एमालेमा आवद्ध गठबन्धन दलको मत १९ हजार ९०७ छ ।

कांग्रेसका वडाध्यक्षका उम्मेदवारहरूको मत ११ हजार ३ सय ४४ रहेको छ भने माओवादी केन्द्रको मत ८ हजार २ सय २ छ। त्यस क्षेत्रमा एकीकृत समाजवादीका वडाध्यक्षका उम्मेदवारहरूले ३४ सय २७ मत पाएका छन् । उक्त क्षेत्रमा एमाले वडाध्यक्षका उम्मेदवारहरूले १८ हजार ५ सय ७३ मत प्राप्त गरेका छन् भने जसपाका उम्मेदवारहरूले १३ सय ३४ मत ल्याएका छन् ।