Dhulikhel Eco Banner new

अन्नपूर्ण पदमार्गमा बढे विदेशी पर्यटक

4.49K
shares

काठमाडौं, ३१ असोज । मौसम खुलेसँगै विश्व चर्चित अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक पुनः देखिन थालेका छन् । दसैँको समयमा निरन्तर वर्षाले गत १९ गतेदेखि पदमार्गमा जान नसकेका पर्यटक यतिबेला भने मौसम खुलेसँगै केही दिनअघिबाट धमाधम आइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताए ।

दसैँका बेलामा दैनिक ८० भन्दाबढी पर्यटक आए पनि मौसममा खराब आएसँगै शून्य जस्तै बनेको यस पदमार्गमा पुनः पर्यटकको चहलपहल देखिएको छ । यतिबेला दैनिक एक सयदेखि एक सय ५० जनासम्म पर्यटक आउन थालेको उक्त केन्द्रले जनाएको छ ।

गुरुङले भने, “अन्य समयभन्दा दसैँ तिहारमा बढी पर्यटक आउछन्, तर दसैँमा मौसम खराबीले आउन थालेका पर्यटक आउन नसके पनि यतिबेला फेरि बढेका छन् ।” पदमार्ग आसपासका व्यापार व्यवसायसमेत फस्टाउन थालेको उनको भनाइ छ ।

पर्यटक आगामी कात्तिक÷मङ्सिरसम्म मात्र यस पदमार्गमा आउछन् । पर्यटक अझै बढ्ने अपेक्षा पर्यटन व्यवसायीले गरेका छन् । यस पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिका वडा नंं ४ जगतका पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भने, “दसैँका बेलामा सुनसान भएको व्यवसाय यतिबेला पर्यटक आगमनले सास फेर्ने फुर्सद पनि नभएको जस्तै हुन थालेको छ ।”

पर्यटकको चाप बढ्न थालेसँगै आफ्नो होटल विदेशी पर्यटकले भरिन थालेकाले उनीहरुको सेवामा समय बित्ने गरेको उनको भनाइ छ । मस्र्याङ्दी गाउँपालिका–४ स्यागेका पर्यटन व्यवसायी तुल्सी गुरुङले पनि यतिबेला पर्यटक खचाखच रहेको बताए । “होटलमा पर्यटक भरिन थालेका छन्, योभन्दा बढी राम्रो व्यापार हुन्थ्यो तर केही दिनअघिको मौसमले गर्दा व्यवसायमा असर पुगेको छ” ,उनले भने ।

यसअघि होटलमा आउन बुकिङ गरेका २०/२२ जनाको आठ गु्रपले बुकिङ क्यान्सिल गरेको उनले सुनाए । पर्यटक सीमित समयका लागि समय छुट्याएर आएका हुन्छन् । तर १५/२० दिनको मौसम खराबले गर्दा उनीहरु फर्किन पर्दा व्यवसायमा समेत असर पुगेको र आउन लागेका पर्यटकसमेत कम आएको उनले बताए ।