Dhulikhel Eco Banner new

कोभिडपछिका चुनौतीको सामनामा सहयोग गर्न आईएलओलाई संघाईको आग्रह

4.78K
shares

काठमाडौं, २१ मंसिर । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रामचन्द्र संघाईले कोभिड पछिको चुनौतिको सामाना गर्नका लागि सहयोग गर्नका लागि आइएलओलाई आग्रह गरेका छन् । महासंघको रोजगारदाता परिषद्को समेत सभापति रहेका संघाईले अन्तराष्ट्रिय श्रम संगठनको १७ औँ एशिया प्रशान्त क्षेत्रीय बैठकलाई सम्बोधन गर्दै सहयोग गर्न आग्रह गरेका हुन् ।

सिंगापुरमा आयोजना गरेको कार्यक्रममा संघाईले कोभिडपछि नेपाली अर्थतन्त्रले निरन्तर चुनौतीहरूको सामना गरिरहेको र त्यसको पुुष्टि अर्थतन्त्रका सूचकहरूले देखाइरहेको पनि जानकारी दिए । बैठकको मंगलबार सिंगापुरका राष्ट्रपतिले उद्घाटन गरेका थिए । एशिया–प्रशान्त क्षेत्र र अरव राष्ट्रका सरकार, रोजगारदाता र ट्रेडयूनियन प्रतिनिधिहरूको सहभागिता रहेको सो बैठक मंसिर २३ गतेसम्म चल्ने छ ।

संवोधनको क्रममा उपाध्यक्ष संघाईले सन २०१६ मा इण्डोनेसियाको बालिमा सम्पन्न एशिया–प्रशान्त क्षेत्रको १६ औँ वैठकपछि थुप्रै परिवर्तन भएको खासगरी महामारी र यसबाट परेको प्रभाव, सिर्जित चुनौती र कोभिडबाट भएको नोक्सानीको छिटो क्षतिपूर्ति पाउन कठिनाई भईरहेको पनि बताए । विभिन्न कठिनाईका वावजुद नेपालको निजी क्षेत्रले व्यवसायको विकास, रोजगारी सिर्जना, सामाजिक सुरक्षा, औद्योगिकरण, साना तथा मझौला उद्योगको विकास एवं कार्यवातावरणको सुधारको क्षेत्रमा जोड दिई काम गरिरहेको सो अवसरमा अन्तराष्ट्रिय समुदायलाई जानकारी गराए ।

निजी क्षेत्रका सवै गतिविधिहरु दिगो विकासको लक्ष्य एसडीजी प्राप्तिलाई ध्यानमा राखी संचालन भईरहेको पनि उनको भनाइ छ । ‘हाम्रा सम्पूर्ण गतिविधिहरू दिगो विकास लक्ष्यहरू हासिल गर्नेतर्फ लक्षित छन् र त्यसको कार्यान्वयनका लागि हामी सरकार र ट्रेड युनियनहरूसँग सामाजिक संवादमार्फत सहकार्य गरिरहेका छौँ,’ उनले भने ।

संचार प्रविधिको बढदो प्रयोगले कामको स्वरुपमा परिवर्तन भईरहेको र यसबाट श्रम बजारमा प्रभाव पर्नुको साथै सीपयुक्त जनशक्तिको आवश्यकता रहेको धारणा राख्दै उनले उत्पन्न चुनौतीको सामना गर्न तथा व्यवसायलाई दिगो बनाउन नीतिगत सुधारको आवश्यकतामा जोड समेत जोड दिए । एशिया–प्रशान्त क्षेत्रका देशहरू आर्थिक वृद्धिका विभिन्न चरणहरूमा रहेका र यस क्षेत्रको आर्थिक वृद्धिलाई प्रवद्र्धन गरी बलियो अर्थतन्त्र निर्माण गर्नका लागि यस प्रकारको क्षेत्रीय बैठक र राष्ट्रहरूबीचको सहकार्य एशिया प्रशान्त क्षेत्रका लागि अत्यन्तै महत्वपूर्ण र लाभदायी हुने संघाईले भनाइ थियो ।

दिगो विकास र श्रम बजार स्थायित्वका लागि कोभिड–१९ पछिको परिदृश्यमा चुनौतीहरूको सामना गर्नका लागि देशहरूलाई सहजीकरण गर्न थप रणनीतिक पहल र समर्थनका साथ अगाडि आउन उपाध्यक्ष संघाईले आइएलओलाई अनुरोध समेत गरे । सभापति संघाईका साथ महासंघका वरिष्ठ परामर्शदाता हंसराम पाण्डेले पनि उक्त बैठकमा भाग लिएका छन् ।