चौधरी फाउन्डेसन र नबिल बैंकद्वारा बाढी प्रभावितका लागि १५ करोडको राहत तथा पुनर्स्थापना कार्यक्रम
वि.सं.२०८३ भदौ १५ सोमवार १३:००
shares

काठमाडौं, १५ भदौ । चौधरी फाउन्डेसन र नबिल बैंकले रसुवा र नुवाकोटका बाढी प्रभावित समुदायका लागि करिब १५ करोड रुपैयाँ बराबरको राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेका छन् ।
हालै आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै प्रभावित क्षेत्रमा दीर्घकालीन पुनर्स्थापना गर्ने उद्देश्यले कार्यक्रम अघि बढाइएको हो ।
कार्यक्रमअन्तर्गत प्रभावित परिवारलाई खाना, स्वच्छ खानेपानी, तयारी खाद्य सामग्री, लत्ताकपडा, त्रिपाल तथा व्यक्तिगत सरसफाइका सामग्री वितरण सुरु गरिएको छ । रसुवा र नुवाकोटमा एक–एक वटा राहत शिविर सञ्चालन गरी प्रभावित नागरिकलाई खाना, खानेपानी तथा सरसफाइ सुविधा उपलब्ध गराउने योजना रहेको छ । शिविरमा बालबालिकाका लागि सुरक्षित स्थानको समेत व्यवस्था गरिने जनाइएको छ ।
बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएका क्षेत्रमा तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापनालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने चौधरी फाउन्डेसन र नबिल बैंकले जनाएको छ ।
यसैबीच, उद्योगपति डा. वरुण चौधरीले बाढीपछि भारतबाट प्राप्त राहत, उद्धार तथा प्राविधिक सहयोगप्रति आभार व्यक्त गरेका छन् । भिडियो सन्देशमार्फत उनले विपद्को कठिन समयमा भारतले गरेको सहयोगले नेपाल–भारतबीचको गहिरो मित्रतालाई पुनः उजागर गरेको बताएका छन् ।
भारतले भदौ १४ सम्म चारवटा हवाई उडानमार्फत नेपालमा ६८ दशमलव ५ टन राहत तथा प्राविधिक सामग्री पठाएको छ । औषधि, तयारी खाद्य सामग्री, पोर्टेबल जेनेरेटर, पानी शुद्धीकरण ट्याब्लेट, कम्बल, स्लिपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट, सरसफाइ सामग्री तथा खोज तथा उद्धार उपकरण नेपाल पठाइएको छ ।
बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि भारतले २३० फिट लामो एकलेन मोड्युलर स्टिल पुल निर्माणका सामग्रीसहित १६ ट्रक नेपाल पठाएको छ । थप सातवटा बेली पुलका सामग्री र जडानका लागि प्राविधिक टोली पठाउने तयारीसमेत गरिएको छ ।
डा. चौधरीले तत्काल राहत तथा उद्धारपछि नेपालको अर्को ठूलो चुनौती पुनर्निर्माण रहेको बताएका छन् । बाढीका कारण जलविद्युत् आयोजना, विद्यालय, पुल तथा सडकजस्ता महत्वपूर्ण पूर्वाधारमा क्षति पुगेकाले पुनर्निर्माणका लागि समेत सहयोग आवश्यक रहेको उनको भनाइ छ ।
उनले भनेका छन्, “हाम्रा धेरै पूर्वाधारहरू—हाइड्रोपावर, विद्यालय, पुलहरू र सडकहरू—क्षतिग्रस्त भएका छन् । राहत सामग्रीजस्तै यी पूर्वाधारहरूको पुनर्निर्माणमा पनि हामीले सहयोगको अपेक्षा गरेका छौँ ।”
विपद्पछिको राहत तथा पुनर्स्थापनामा निजी क्षेत्रबाट सहयोग विस्तार भइरहेका बेला चौधरी फाउन्डेसन र नबिल बैंकको यो कार्यक्रमले बाढी प्रभावित क्षेत्रमा तत्काल राहतसँगै दीर्घकालीन पुनर्स्थापनामा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।


















