Dhulikhel Eco Banner new

सर्वसाधारणका लागि शेयर जारी गर्दै डिभाइन हेल्थकेयर

494
shares

काठमाडौं, १५ भदौ । डिभाइन हेल्थकेयर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

यससम्बन्धी सम्झौतामा मुक्तिनाथ क्यापिटलको कार्यालयमा आयोजित कार्यक्रममा डिभाइन हेल्थकेयरका अध्यक्ष युवराज श्रेष्ठ र मुक्तिनाथ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत कबिन्द्र विक्रम ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।

कम्पनीले जारी पुँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ । कार्यक्रममा कम्पनीका प्रबन्ध सञ्चालक सुसान्त मुरारका तथा सञ्चालकहरू मनोज केसी र विनय तोदीको पनि सहभागिता थियो ।

वि.सं. २०७४ असोज १४ गते स्थापना भएको डिभाइन हेल्थकेयर भरतपुर महानगरपालिका–१६, विजयनगर, चितवनमा अवस्थित औषधि उत्पादक कम्पनी हो । कम्पनीले औषधि व्यवस्था विभाग तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट उत्पादन तथा बजारीकरणसम्बन्धी दर्ता र स्वीकृति प्राप्त गरी मानव स्वास्थ्यका लागि आवश्यक औषधि उत्पादन तथा बिक्री–वितरण गर्दै आएको जनाएको छ ।

कम्पनीले हाल ६७ प्रकारका औषधि उत्पादन गरी नेपाली बजारमा बिक्री–वितरण गर्दै आएको छ । कम्पनीका विभिन्न औषधि बजारमा उल्लेख्य मात्रामा बिक्री–वितरण हुँदै आएका छन् ।कम्पनीले यसै माघ महिनादेखि दीर्घकालीन श्वासप्रश्वाससम्बन्धी रोगका बिरामीका लागि आवश्यक औषधिको समेत उत्पादन सुरु गर्ने तयारी गरेको जनाएको छ ।

करिब एक बिघा क्षेत्रफलमा फैलिएको कम्पनी विगत तीन आर्थिक वर्षदेखि नाफामा सञ्चालन हुँदै आएको जनाएको छ । कम्पनीका अनुसार हालसम्म बैंक तथा वित्तीय संस्थाबाट ऋण नलिई मुख्य रूपमा स्वपुँजीबाट सञ्चालन हुँदै आएको छ । कम्पनीको देशभर १२५ भन्दा बढी वितरकको सञ्जाल रहेको छ ।

सार्वजनिक निष्कासनबाट प्राप्त पुँजीलाई नयाँ प्रविधिको विस्तार, नयाँ औषधिको विकास, विद्यमान औषधिको गुणस्तर सुधार तथा उत्पादन प्रक्रियालाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउन अनुसन्धान तथा विकासमा प्राथमिकताका साथ उपयोग गर्ने कम्पनीले जनाएको छ ।