अर्थतन्त्र सुधार पहिलो प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड
वि.सं.२०७९ पुस १२ मंगलवार १०:४३
shares

काठमाडौं, १२ पुस । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र सुधार आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् । मंगलबार बिहान नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँगको भेटमा प्रचण्डले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर भएर लाग्ने बताएका हुन् ।
महासंघको पदाधिकारीहरु मंगलबार बिहान प्रचण्डको निजी निवास खुमलटार गएर भेटवार्ता गरेका थिए । सो अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डले अर्थतन्त्रको पुनरूत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषदको पहिलो बैठकबाट यस सम्बन्धमा निर्णय समेत भैसकेको जानकारी गराएका थिए । अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि उनले बताए ।
भेटका क्रममा महासंघका पदाधिकारीहरुले चालु पुँजी कर्जा मार्गनिर्देशन कम्तीमा दुई वर्ष स्थगन गर्न माग गरेका छन् । सो अवसरमा महासंघका अध्यक्ष शेखर गोल्छाले चालु पुँजी कर्जा स्थगनसँगै हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुझाव दिएका थिए ।
अर्थतन्त्रमा बहुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षा मार्फत पनि समस्या सम्बोधन हुन नसकेको र विशेष गरी समग्र बैकिङ समस्याको कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुगेको भन्दै उनले बाध्य भएर सडकमा आउने परिस्थिति बनेकाले त्यसको अन्त्य गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका थिए ।

















