बराह सहकारीका अध्यक्ष पक्राउ, १० अर्ब ७३ करोड रुपैयाँभन्दा बढी रकम अपचलनको आरोप
वि.सं.२०८३ मंसिर २ बुधवार १६:०५
shares

काठमाडौं, २ मंसिर । सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थासम्बन्धी रकम अपचलन प्रकरणमा बराह ग्रुपका अध्यक्ष शिव लामिछाने (शिवकुमार विश्वकर्मा) पक्राउ परेका छन्।
कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले लामिछाने पक्राउ परेको पुष्टि गरेका छन्। उनका अनुसार उनलाई कोशी प्रदेशबाट पक्राउ गरिएको हो। पक्राउ परेको स्थान भने प्रहरीले सार्वजनिक गरेको छैन।
डीआईजी खनालका अनुसार सहकारीको रकम अपचलनसम्बन्धी अनुसन्धानका क्रममा लामिछानेको खोजी भइरहेको थियो।
धरान उपमहानगरपालिकाको कार्यक्षेत्र रहेको बराह बचत तथा ऋण सहकारी संस्था आर्थिक समस्यामा परेपछि २०८२ भदौ २२ गते धरान उपमहानगरपालिकाले यसलाई समस्याग्रस्त घोषणा गरेको थियो।
प्रहरी अनुसन्धानका आधारमा सहकारीको १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ अपचलन भएको दाबीसहित २६२ जनाविरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरिएको थियो। उक्त मुद्दामा बराह ग्रुपका अध्यक्ष शिवकुमार विश्वकर्मा (लामिछाने) लगायतका प्रतिवादीसमेत रहेका थिए।
अनुसन्धानमा सहकारीबाट परिचालित भएको भनिएको रकमको ठूलो हिस्सा बराह ग्रुपअन्तर्गतका विभिन्न १४ कम्पनीमा लगानी गरिएको उल्लेख छ।
सहकारीको कुल दायित्व १० अर्ब ८९ करोड ९५ लाख २० हजार २३५ रुपैयाँ रहेको विवरणमा उल्लेख छ। उक्त दायित्व पूरा गर्न सञ्चालकहरूबाट १० अर्ब ७१ करोड ४३ लाख ४७ हजार रुपैयाँ असुल गर्नुपर्ने दाबी गरिएको छ।
उपलब्ध विवरणअनुसार बराह ज्वेलरीले सहकारीका नाममा ९ अर्ब ७१ करोड ८९ लाख ८० हजार ५२० रुपैयाँ संकलन गरेको उल्लेख छ।
बराह ग्रुपअन्तर्गत धरानबाहेक काठमाडौं, चितवन र पोखरामा पनि विभिन्न कम्पनी सञ्चालनमा रहेका थिए। तीमध्ये इन्द्र बराह ट्राभल्स एन्ड टुर्स, नारायण बराह ज्वेलरी इन्डस्ट्रिज, गोरखा एन्ड बराह ज्वेलरी इन्डस्ट्रिज, बराह ज्वेलरी इन्डस्ट्रिज, बराह प्रपर्टी सर्भिसेज, बराह नेसनल इन्भेस्टमेन्ट र ड्रिमल्यान्ड रियल स्टेटलगायत कम्पनी रहेका छन्।
बराह ज्वेलरीको व्यावसायिक गतिविधि विस्तार भएपछि २०६६ सालमा बराह बचत तथा ऋण सहकारी संस्था स्थापना गरिएको थियो। सहकारीमार्फत संकलित रकम ग्रुपअन्तर्गतका विभिन्न कम्पनीमा लगानी भएको अनुसन्धान विवरणमा उल्लेख छ।
सहकारीसम्बन्धी मुद्दामा रकम संकलन, लगानी, आर्थिक दायित्व र रकम असुलीका विषय अदालतमा विचाराधीन रहेका छन्। पक्राउ परेका व्यक्तिसहित मुद्दामा प्रतिवादी बनाइएका अन्य व्यक्तिको हकमा अन्तिम न्यायिक निर्णय हुन बाँकी छ।

















