Dhulikhel Eco Banner new

सिमेन्ट उद्योगमा सुस्तायो नाफा, तीन कम्पनीको कमाइ ५० प्रतिशतभन्दा बढी घट्यो

793
shares

काठमाडौं, २ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत सिमेन्ट उद्योगका कम्पनीहरूको वित्तीय अवस्था कमजोर देखिएको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा पाँच कम्पनीमध्ये तीनवटा नाफामा रहे पनि सबैको खुद नाफा अघिल्लो वर्षको तुलनामा उल्लेख्य घटेको छ । दुई कम्पनी भने घाटामा छन् ।

कम्पनीहरूले सार्वजनिक गरेको साउनदेखि असोजसम्मको वित्तीय विवरणअनुसार सर्वोत्तम सिमेन्टले सबैभन्दा बढी खुद नाफा कमाएको छ भने घोराही सिमेन्ट सबैभन्दा ठूलो घाटामा रहेको छ । पाँच कम्पनीको समग्र औसत खुद नाफासमेत ऋणात्मक बनेको छ ।

सर्वोत्तमको नाफा ६७.९५ प्रतिशतले घट्यो

पहिलो त्रैमासमा सर्वोत्तम सिमेन्टले १० करोड ३९ लाख ४० हजार रुपैयाँ खुद नाफा कमाएको छ । पाँच कम्पनीमध्ये सबैभन्दा बढी नाफा कमाए पनि अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३२ करोड ४२ लाख ८० हजार रुपैयाँको तुलनामा कम्पनीको नाफा ६७.९५ प्रतिशतले घटेको हो ।

शिवम् सिमेन्ट्स ७ करोड ६ लाख ३० हजार रुपैयाँ खुद नाफासहित दोस्रो स्थानमा छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा २० करोड ९६ लाख ७० हजार रुपैयाँ नाफा कमाएको कम्पनीको नाफा यस वर्ष ६६.३१ प्रतिशतले घटेको छ ।

त्यस्तै, सोनापुर मिनरल्सले १ करोड ९३ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा ४ करोड ३६ लाख ९० हजार रुपैयाँ नाफा गरेको कम्पनीको नाफा ५५.८० प्रतिशतले घटेको हो ।

नाफा कमाउन नसकेका दुई कम्पनीमध्ये घोराही सिमेन्टको खुद घाटा १६ करोड १५ लाख २० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा कम्पनी १२ करोड ८० लाख २० हजार रुपैयाँ घाटामा थियो ।

पाल्पा सिमेन्टले पनि समीक्षा अवधिमा १३ करोड ७६ लाख ५० हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । कम्पनीको अघिल्लो वर्षको तुलनात्मक तथ्याङ्क उपलब्ध छैन ।

समग्र उद्योग नै घाटामा

पाँचवटै कम्पनीको वित्तीय विवरणलाई समग्रमा हेर्दा सिमेन्ट उद्योगको औसत खुद नाफा ११८.७३ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड २४ लाख रुपैयाँ औसत खुद नाफा रहेको उद्योग चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ११ लाख रुपैयाँ घाटामा पुगेको छ ।

नाफामा रहेका तीनवटै कम्पनीको आम्दानीमा ५० प्रतिशतभन्दा बढी गिरावट आउनु र दुई कम्पनी घाटामा रहनुले सिमेन्ट उद्योगको वित्तीय प्रदर्शन कमजोर बनेको देखाउँछ ।

जगेडा कोषमा सर्वोत्तम अगाडि

पाँच कम्पनीको औसत जगेडा कोष १८.६५ प्रतिशतले घटेर ३ अर्ब ४९ करोड ४३ लाख रुपैयाँ कायम भएको छ ।

जगेडा कोषका आधारमा सर्वोत्तम सिमेन्ट सबैभन्दा अगाडि छ । कम्पनीको जगेडा कोष २.५५ प्रतिशतले घटेर ५ अर्ब २४ करोड १८ लाख ७० हजार रुपैयाँ रहेको छ ।

शिवम् सिमेन्ट्सको जगेडा कोष ०.११ प्रतिशतले बढेर ५ अर्ब ३ करोड ५७ लाख २० हजार रुपैयाँ पुगेको छ । त्यस्तै, सोनापुर मिनरल्सको जगेडा कोष १०.३६ प्रतिशतले बढेर ३ अर्ब ११ करोड ९१ लाख ६० हजार रुपैयाँ कायम भएको छ ।

यता, घोराही सिमेन्टको जगेडा कोष २०.९५ प्रतिशतले घटेर ३ अर्ब ११ करोड ८९ लाख ५० हजार रुपैयाँमा झरेको छ । पाल्पा सिमेन्टको जगेडा कोष ९५ करोड ५६ लाख १० हजार रुपैयाँ रहेको छ ।

इपीएसमा पनि सर्वोत्तम अगाडि

कम्पनीहरूको नाफामा आएको गिरावटको असर प्रतिसेयर आम्दानी (इपीएस) मा समेत देखिएको छ । पाँच कम्पनीको औसत इपीएस अघिल्लो वर्षको ८.८३ रुपैयाँबाट घटेर ऋणात्मक २.४० रुपैयाँमा पुगेको छ ।

सर्वोत्तम सिमेन्टको इपीएस ७.९६ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष २४.८३ रुपैयाँ रहेको कम्पनीको इपीएस यस वर्ष ६७.९४ प्रतिशतले घटेको हो ।

शिवम् सिमेन्ट्सको इपीएस ५.०५ रुपैयाँ र सोनापुर मिनरल्सको २.५१ रुपैयाँ रहेको छ । घोराही सिमेन्टको इपीएस ऋणात्मक १२.८६ रुपैयाँ छ भने पाल्पा सिमेन्टको ऋणात्मक १४.६८ रुपैयाँ रहेको छ । यस आधारमा पाल्पाको प्रतिसेयर आम्दानी सबैभन्दा कमजोर देखिएको छ ।

नेटवर्थमा सोनापुरको बलियो उपस्थिति

प्रतिसेयर नेटवर्थ अर्थात् किताबी मूल्यका आधारमा सोनापुर मिनरल्स सबैभन्दा अगाडि देखिएको छ । कम्पनीको नेटवर्थ २०१.४३ रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४.९६ प्रतिशतले बढी हो ।

सर्वोत्तम सिमेन्टको प्रतिसेयर नेटवर्थ २००.३४ रुपैयाँ, शिवम् सिमेन्ट्सको १९०.०३ रुपैयाँ, घोराही सिमेन्टको १६२.०८ रुपैयाँ र पाल्पा सिमेन्टको १२५.४८ रुपैयाँ रहेको छ ।

पाँच कम्पनीको औसत नेटवर्थ ७.८४ प्रतिशतले घटेर १७५.८७ रुपैयाँ कायम भएको छ ।

चुक्ता पुँजीमा शिवम् सबैभन्दा ठूलो

चुक्ता पुँजीका आधारमा शिवम् सिमेन्ट्स पहिलो स्थानमा छ । कम्पनीको चुक्ता पुँजी ५ अर्ब ५९ करोड ३२ लाख ३० हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, सर्वोत्तम सिमेन्टको चुक्ता पुँजी ५ अर्ब २२ करोड ४२ लाख ८० हजार रुपैयाँ, घोराही सिमेन्टको ५ अर्ब २ करोड ४४ लाख ५० हजार रुपैयाँ, पाल्पा सिमेन्टको ३ अर्ब ७५ करोड रुपैयाँ र सोनापुर मिनरल्सको ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ रहेको छ ।

समग्र वित्तीय सूचकांकले सिमेन्ट कम्पनीहरूमा फरक–फरक अवस्था देखाएको छ । खुद नाफामा सर्वोत्तम सिमेन्ट अगाडि रहे पनि यसको नाफा उल्लेख्य घटेको छ । सोनापुर मिनरल्सले सबैभन्दा बढी प्रतिसेयर नेटवर्थ कायम गरेको छ भने शिवम् सिमेन्ट्सको चुक्ता पुँजी सबैभन्दा ठूलो छ ।

अर्कोतर्फ, घोराही सिमेन्टले सबैभन्दा ठूलो घाटा व्यहोरेको छ भने पाल्पा सिमेन्टको इपीएस र नेटवर्थ दुवै सबैभन्दा कमजोर देखिएका छन् । यसले सिमेन्ट उद्योगका कम्पनीहरूको वित्तीय अवस्था अझै दबाबमा रहेको संकेत गर्छ ।