नेप्सेमा दोहोरो गिरावट, कारोबार रकम साढे ४ अर्बबाट तल झर्यो
वि.सं.२०८३ मंसिर २ बुधवार १५:१२
shares

काठमाडौं, २ मंसिर । साताको दोस्रो कारोबार दिन बुधबार पनि शेयर बजारमा गिरावट आएको छ । लगातार दुई कारोबार दिनदेखि ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले बुधबार पनि सोही प्रवृत्तिलाई निरन्तरता दिएको हो ।
यस दिन नेप्से परिसूचक ११.०५ अंकले घटेर २ हजार ६२५.०५ विन्दुमा झरेको छ । यस्तै, सेन्सेटिभ इण्डेक्स १.०६ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३४ अंकले ओरालो लागेको छ ।
बजार परिसूचकसँगै कारोबार रकममा समेत कमी आएको छ । मंगलबार ४ अर्ब ७३ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बुधबार ३४७ वटा स्टकका ४१ हजार ६२७ पटकको कारोबारबाट ४ अर्ब १५ करोड ४९ लाख २५ हजार रुपैयाँ बराबरका १ करोड १ लाख ६२ हजार कित्ता शेयर किनबेच भएका छन् ।
यस दिन मूल्य बढ्ने कम्पनीहरूको वृद्धिदर ४ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएका कम्पनीमध्ये एभरेष्ट कलरको शेयरमूल्य सर्वाधिक ८.६३ प्रतिशतले घटेको छ । सयपत्री हाइड्रोपावरको मूल्य साढे ६ प्रतिशतभन्दा बढी र भिजन लुम्बिनी ऊर्जा कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहेको छ । कम्पनीको ३२ करोड २४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सेन्ट्रल फाइनान्सको करिब साढे १८ करोड रुपैयाँको कारोबार हुँदा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम १२ करोड रुपैयाँ नाघेको छ ।
नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये बुधबार दुईवटाको परिसूचक बढेको छ भने ११ वटाको घटेको छ । बैंकिङ र म्युचुअल फण्ड उपसमूहमा सामान्य वृद्धि देखिएको छ । यता, व्यापार उपसमूह सबैभन्दा बढी प्रभावित भएको छ । उक्त उपसमूहको परिसूचक २.४९ प्रतिशतले घटेको छ ।

















