मुकुल ढकाल र निशा डाँगी मंसिर १० गते विवाह बन्धनमा बाँधिँदै
वि.सं.२०८३ मंसिर २ बुधवार १४:५९
shares

काठमाडौं, २ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र वर्तमान सहमहामन्त्री तथा सांसद निशा डाँगी विवाह बन्धनमा बाँधिने भएका छन् । उनीहरू आगामी २०८३ मंसिर १० गते (नोभेम्बर २६, २०२६) विवाह गर्ने तयारीमा छन् ।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले आफ्नो सम्बन्धलाई गोप्य राख्दै आएका थिए । यद्यपि उनीहरूका नजिकका साथीभाइ र आफन्तलाई भने यसबारे जानकारी रहेको बताइएको छ । उनीहरूको परम्परागत टिकाटालो कार्यक्रमसमेत सम्पन्न भइसकेको छ ।
नेपाल प्रेससँग टेलिफोन कुराकानी गर्दै डा. ढकालले विवाहको तयारी भइरहेको पुष्टि गरेका छन् ।
प्राप्त जानकारीअनुसार ढकालले मंसिर १० गते विराटनगरबाट जन्ती लिएर डाँगीको गृहजिल्ला झापा जाने तयारी गरेका छन् । विवाहको आवश्यक तयारीका लागि उनी मंसिर २ गते (नोभेम्बर १८) काठमाडौं हुँदै झापा जाने कार्यक्रम रहेको बताइएको छ ।

















