Dhulikhel Eco Banner new

ग्राहकलाई साढे ४ अर्ब रुपैयाँ फिर्ता गर्दै २५ वाणिज्य बैंक

5.15K
shares

काठमाडौं, १३ पुस । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई ग्राहकसँग नियम विपरित असुल गरेको रकम फिर्ता गर्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले २५ वाणिज्य बैंकलाई रकम फिर्ता गर्नका लागि निर्देशन दिएको हो ।

बैंकले रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरेका बैंकहरुलाई साधारण सभा आयोजना गर्नका लागि अनुमति समेत दिएको छ । २६ वटा वाणिज्य बैंकमध्ये कृषि विकास बैंकको वित्तीय विवरण स्वीकृत भएको छैन भने अरु २५ वटा बैंकलाई नियम विपरितको रकम फिर्ता गर्नका लागि निर्देशन दिएको हो ।

राष्ट्र बैंकका अनुसार २५ बैंकले ४ अर्ब ६६ करोड ८ लाख रुपैयाँ नियम विपरित असुल गरेको देखिएको छ । राष्ट्र बैंकको निर्देशनपछि बैंकहरुले ग्राहकको खातामा नियम विपरित असुल गरेको रकम फिर्ता गर्न सुरु समेत गरेका छन् । बैंकहरुले गत आर्थिक वर्षको असार मसान्तमा सार्वजनिक वित्तीय विवरणमा आम्दानी देखाएको ब्याज रकम ग्राहकलाई फिर्ता गर्नु परेको हो ।

बैंकहरुले सम्झौता विपरित ब्याज असुल गरेको उद्योगी व्यवसायीको गुनासोपछि राष्ट्र बैंकले गत साउन २० गते बैंक तथा वित्तीय संस्थालाई २०७८ असारदेखि २०७९ असार मसान्तसम्म प्रवाह गरेको कर्जाको मासिक ब्याजदर सम्बन्धी विवरण १० दिन भित्र उपलब्ध गराउन निर्देशन दिएको थियो । उक्त विवरण अध्ययनपछि राष्ट्र बैंकले गत असोज ११ गते बैंक तथा वित्तीय संस्थालाई नियम विपरित असुल गरेको ब्याज रकम ऋणीको खातामा फिर्ता गर्न निर्देशन दिएको थियो ।

राष्ट्र बैंकबाट साधारण सभा गर्ने अनुमति पाएका बैंक मध्ये एनआइसी एसिया बैंकले सबै भन्दा बढी रकम फिर्ता गर्नु परेको छ । राष्ट्र बैंकले एनआइसी एसिया बैंकलाई ४८ करोड रुपैयाँ फिर्ता गर्न निर्देशन दिएको छ । त्यस्तै नबिल बैंकले नियम विपरित असुल गरेको ४७ करोड रुपैयाँ फिर्ता गर्नु पर्ने भएको हो ।

त्यस्तै स्टयाण्डर्ड चार्टर्ड बैंकले ४० लाख रुपैयाँ फिर्ता गर्नु परेको छ । यो २५ वटा बैंकमध्ये सबैभन्दा कम रकम हो । त्यस्तै गत आर्थिक वर्षमा ग्लोबल आइएमइ बैंकलाई ४५ करोड रुपैयाँ फिर्ता गर्न राष्ट्र बैंकले निर्देशन दिएको थियो । यता सिद्धार्थ बैंकले ३२ करोड ५० लाख रुपैयाँ, बैंक अफ काठमाण्डूले र पाइम कर्मसिलय बैंकले समान २६ करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले २४ करोड ५० लाख रुपैयाँ फिर्ता गर्नु परेको छ ।

यस्तै, कुमारी बैंकले २० करोड, सनराइज बैंकले १९ करोड १० लाख, एनएमबी बैंकले १६ करोड ३० लाख, एभरेष्ट बैंकले १५ करोड ४० लाख र नेपाल बैंक लिमिटेडले १५ करोड रुपैयाँ, प्रभु बैंकले १५ करोड रुपैयाँ, लक्ष्मी बैंकले १३ करोड ३० लाख रुपैयाँ फिर्ता गर्नु परेको छ ।

हिमालयन, नेपाल इन्भेष्टमेन्ट र सिटिजन्स बैंकले समान १२ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले ११ करोड ७० लाख, सिभिल बैंकले ११ करोड २० लाख रुपैयाँ, मेगा बैंकले ११ करोड रुपैयाँ, सानीमा बैंकले ११ करोड रुपैयाँ, एनसीसी बैंकले ८ करोड ५० लाख रुपैयाँ, सेन्चुरी बैंकले ६ करोड ५० लाख रुपैयाँ र एसबीआई बैंकले ६ करोड ७५ लाख रुपैयाँ नियम विपरित असुल गरेको रकम फिर्ता गर्ने प्रक्रिया शुरु गरेका छन् ।