Dhulikhel Eco Banner new

धानुक दास हत्याकाण्ड : सुटरसंगै छोरा र ज्वाइँको पनि संलग्नतामा

6.21K
shares

जनकपुरधाम, २० पुस । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का धानुक दासको हत्यामा उनकै छोरा र ज्वाइँको संलग्नता रहेको पाइएको छ । ४० वर्षीय मोटर मिस्त्री दासको गत ९ पुसको शनिबार साँझ आफ्नै ग्यारेजमा गोली प्रहार गरी हत्या गरिएको थियो ।

दासको हत्यामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले उनका छोरा र ज्वाइँसहित तीन जनालाई पक्राउ गरेको छ । एकजना अझै फरार रहेका छन् । दासको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दासका छोरा प्रदीप दास, ज्वाइँ उदय दास र नगराइन नगरपालिकास्थित जटहीका सुटर रञ्जित यादवलाई पक्राउ गरेको हो ।

मृतक धानुक दासका ज्वाइँ उदय दास मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका चालक हुन् । तीनैजनालाई प्रदेश प्रहरी कार्यालयका निरीक्षक उमाशंकर प्रसाद साह र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको संयुक्त टोलीले पक्राउ गरेको हो । घटनामा संलग्न भारत बिहारको खजुली बस्ने आकाश भनिने सोनु मिश्रा फरार रहेको प्रहरीले जनाएको छ ।

घरमा सम्पत्तिको विवाद चलिरहेको र सोही कारण छोरा र ज्वाइँ मिलेर उनको हत्याको योजना बनाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

छोरा प्रदीपले नै ५ लाख रुपैयाँमा सुटरसँग डिल गरेर हत्या गराउन लगाएको प्रहरी स्रोतको दाबी छ । प्रहरी स्रोतका अनुसार सुटरहरूलाई दुईपटकमा ३ लाख रुपैयाँ दिइसकिएको र २ लाख रुपैयाँ दिन बाँकी रहेको थियो ।