Dhulikhel Eco Banner new

यूनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्स बिच मर्जको अन्तिम सम्झौता

6.2K
shares

काठमाडौं, २ माघ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिच मर्जरमा जाने अन्तिम संझौता भएको छ । तीन वटा कम्पनी एक आपसमा मर्ज हुने विषयमा आइतबार यी कम्पनीहरुले बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा यूनियन लाईफका अध्यक्ष शुलभ अग्रवाल, प्राइम लाइफका अध्यक्ष पियुष राज अर्याल र गुराँस लाइफका अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरेका हुन् । संझौता अनुसार यूनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर अनुपात १ः१ः१ कायम गरिएको छ । मर्जर संझौता अनुसार नयाँ बन्ने कम्पनीको नाम हिमालय लाइफ इन्स्योरेन्स लिमिटेड रहने छ । त्यस्तै नयाँ बन्ने कम्पनीको अध्यक्षमा यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष शुलभ अग्रवाल कायम रहेन छन् ।

यस्तै यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण मर्जर पश्चात बन्ने नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत बन्ने छन् । त्यस्तै मर्जर सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु सम्पन्न गरी २०७९ चैत्र भित्र एकीकृत कारोवार गर्ने समयावधि निर्धारण गरिएको छ । सो अवधिभित्र कम्पनीका शाखाहरु, कर्मचारी समायोजनका कार्यहरु समेत सम्पन्न गरिसकिने जनाइएको छ ।

मर्जर संझौता कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले तीन वटा कम्पनीहरु एक आपसमा मर्जर हुनु ऐतिहासिक कार्य भएको बताए । उनले नियमनकारी निकायको तर्फबाट मर्जर कार्यमा पूर्ण सहयोग रहने पनि जानकारी दिए । यसैगरी नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले मर्जर संझौता सफल बनाउन प्राधिकरणको तर्फबाट आवश्यक सहयोग र समन्वय हुने बताए ।