Dhulikhel Eco Banner new

भारतीय तिर्थालु बोकेको बस पल्टिदा ४५ जना घाइते, एकको अवस्था गम्भीर

6.08K
shares

काठमाडौं, ७ माघ । नवलपरासी पश्चिमको त्रिबेणी–महेशपुर भित्रि हुलाकी सडक खण्डमा भारतीय तिर्थयात्रु बोकेको बस पल्टिदा ४५ जना तिर्थयालु घाइते भएका छन् । पाल्हिनन्दन गाउपालिका वडा नं १ रमपुरवाको झरही खोलाको भित्री सडकको पवित्र धार्मिक स्थल त्रिबेणीधामबाट माघे कृष्ण औँसीका दिन तिर्थ स्नान गरि महेशपुर भन्सार नाकाबाट फर्किदै गरेको युपी १६ एफटी ७४६६ भारतीय प्लेट नम्बर भएको बस दुर्घटना भएको हो ।

बस आफै अनियन्त्रित भएर बाटोदेखि अन्दाजी १० मिटर तल खसेको प्रहरीले जनाएको छ । बस पल्टिएको खबर पाएपछि स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली तत्काल पुगेर घाइते भएकाहरुको उद्धार गरी पृथ्वी चन्द्र जिल्ला अस्पताल पठाइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी भोजराज पाण्डेले बताए ।

बसमा करिब ६०/ ६५ जना तिर्थयात्री सवार रहेको बताइएको छ । समान्य घाइते भएकालाई गन्तव्य पठाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । अधिकांश घाइते भएका तिर्थालु भक्तजन भारत महाराजगन्ज जिल्ला फरेन्दा र गोरखपुर कम्पियरगंजका रहेका छन ।