सात महिनामा व्यापार घाटा ८ खर्ब बढी, ९ खर्बको आयात हुँदा ९३ अर्बको मात्रै निर्यात
वि.सं.२०७९ फागुन १० बुधवार १६:४५
shares

काठमाडौं, १० फागुन । नेपालको व्यापार घाटा चालु आर्थिक वर्षको ७ महिनामा ८ खर्ब २५ अर्ब बढी नाघेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको सात महिनामा नेपालको व्यापार घाटा ८ खर्ब २५ अर्ब ७३ करोड नाघेको हो ।
विभागको तथ्यांक अनुसार नेपालले माघ मसान्तसम्म १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख बराबरको वैदेशिक व्यापार गरेको छ । यो अवधिमा नेपालले विभिन्न वस्तु तथा सेवा निर्यातबाट जम्मा ९३ अर्ब ४३ करोड २३ लाख रुपैयाँ आर्जन गरेको छ । सो अवधिमा विदेशबाट वस्तु तथा सेवा आयात गर्नका लागि भने नेपालले ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँ खर्च भएको छ ।
यो अवधिमा नेपालले गरेको वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.७७ प्रतिशत र निर्यातको हिस्सा ९.२३ प्रतिशत छ । गएको माघ मसान्तसम्म भएको वैदेशिक व्यापारबाट २ खर्ब १२ अर्ब १२ करोड ७४ लाख रुपैयाँ बराबर भन्सार राजस्व उठेको विभागको तथ्यांकले देखाएको छ । गत आर्थिक वर्ष २०७८÷७९ को सात महिनाको अवधिमा नेपालले गरेको वैदेशिक व्यापारको तुलनामा यस वर्षको त्यही अवधिमा गरेको व्यापार २०.८४ प्रतिशतले घटेको छ ।
त्यस्तै गएको वर्षको तुलनामा आयात १९.९० प्रतिशतले घटेको छ भने निर्यात २९ प्रतिशतले घटेको छ । नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार भारत हो । माघ मसान्तसम्ममा नेपालले भारतबाट ५ खर्ब ७० अर्ब ९६ करोड ९७ लाख रुपैयाँ बराबरको सामान आयात गरेको छ । यही अवधिमा नेपालबाट भारतमा भएको निर्यात भने जम्मा ६६ अर्ब २२ करोड ६५ लाख रुपैयाँ बराबरमात्रै छ । सात महिनाको अवधिमा चीनबाट १ खर्ब २५ अर्ब पाँच करोड २४ लाख रुपैयाँ बराबरको आयात हुँदा ४२ करोड २६ लाख रुपैयाँ बराबरको मात्रै निर्यात भएको छ ।
त्यस्तै इन्डोनेसियाबाट ५७ अर्ब ९ करोड ६९ लाख रुपैयाँ बराबरको आयात हुँदा १० करोड ३६ लाख रुपैयाँ बराबरमात्रै निर्यात गरेको छ । त्यस्तै संयुक्त अरब इमिरेट्स (यूएई) बाट २० अर्ब २६ करोड २५ लाख रुपैयाँ बराबरको सामान आयात हुँदा २५ करोड ८९ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।
चालु आर्थिक वर्षको माघ मसान्तसम्म नेपालले सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात गरेको छ । विभागका अनुसार यो अवधिमा ८४ अर्ब ६१ करोड ६४ लाख रुपैयाँ बराबरको डिजल, ३८ अर्ब ७३ करोड ३३ लाख रुपैयाँ बराबरको पेट्रोल र ३३ अर्ब ३४ करोड रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको छ । यही अवधिमा नेपालले २६ अर्ब ४२ करोड ४२ लाख रुपैयाँ बराबरको अप्रशोधित सोयाबिन तेल आयात गरेको छ ।
त्यसैगरी २३ अर्ब ६६ करोड रुपैयाँ बराबरको फलाम, १८ अर्ब ४५ करोड ३५ लाख रुपैयाँ बराबरका सुनजन्य वस्तु, १७ अर्ब ७६ करोड रुपैयाँ बराबरको अप्रशोधित पाम आयल र १४ अर्ब ७६ करोड ८३ लाख बराबरको स्मार्टफोन आयात भएको देखिन्छ ।
सात महिनाको अवधिमा नेपालबाट सबैभन्दा धेरै पाम आयल निर्यात भएको छ । यो अवधिमा १३ अर्ब ९२ करोड ६७ लाख बराबरको पाम तेल निर्यात भएको छ । त्यस्तै सोयाबिन तेल ८ अर्ब २७ करोड ७५ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । विभागका अनुसार चार अर्ब ८९ करोड रुपैयाँ बराबरको अलैँची र दुई अर्ब ५८ करोड ३४ लाख रुपैयाँ बराबरको चिया निर्यात भएको छ ।















