एसपीएद्वारा मानव सेवा आश्रमलाई आर्थिक सहयोग
वि.सं.२०७९ फागुन ११ बिहीवार २०:२४
shares

काठमाडौं, ११ फागुन । धनगढीमा रहेको एसपीए कलेजले मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ । कलेजले आफ्नो रजत जयन्ती (२५ औँ वार्षिकोत्सव) को अवसरमा आश्रमलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
बिहीबार मानव सेवा आश्रमको धनगढीस्थित प्रदेश कार्यालयमा पुगेर कलेजका प्रबन्ध निर्देशक सुवाश शाहीले उक्त रकम प्रदेश आदर्श ढकाललाई हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्दै शाहीले रजत जयन्तीमा भड्किलो कार्यक्रम गर्नुभन्दा मानव सेवाका लागि खर्च गर्नु उपर्युक्त हुने भएकाले उक्त सहयोग गरेको बताए । उनले अन्य संस्थाले पनि आफ्ना कार्यक्रमहरुको बजेट कटौती गरेर मानव सेवामा खर्च गर्ने ट्रेन्ड बसाल्नुपर्ने सुझाव पनि दिए ।
‘सबैभन्दा ठूलो धर्म भनेकै सेवा हो । त्यो भन्दा ठूलो अरु कुनै हुन सक्दैन,’ शाहीले भने, ‘रजत जयन्तीको अवसरमा हामीले गरेको सहयोगले समारोहहरु धेरै भड्किलो बनाउँनुभन्दा मानविय सेवामा खर्च गर्नपर्छ भन्ने सन्देश दिन खोजेका छौं ।’ मानव सेवा आश्रमको धनगढी कार्यालयमा ५२ जना असहायहरु आश्रित छन् । जसको लालन पालन तथा खानाको व्यवस्था आश्रमले गर्दै आएको छ । ती आश्रितहरुको खाना, बस्न र लालनपालन तथा उपचारमा सहयोग पुगोस भन्ने हेतुले एसपीएले उक्त सहयोग गरेको शाहीको भनाइ छ ।
यसका साथै प्रबन्ध निर्देशक शाहीले आश्रमको भवन निर्माणमा एउटा कोठा निर्माणको प्रायोजन समेत एसपीएले गर्ने प्रतिबद्धता जनाए । सहयोग हस्तान्तरणपछि क्याम्पस प्रमुख योगराज गौतमले मानवीय सेवामा जोडिदा एसपीए परिवारमा खुशीयाली छाएको बताए । ‘यसले हामीलाई खुशीयाली प्रदान गरेको छ,’ गौतमले भने, ‘निस्वार्थ प्रेमिल भावले सानो सहयोग गर्दा ठूलो सहयोग बन्छ । सामाजिक उत्तर दायित्व अन्तर्गत समाजका विभिन्न अंगसँग जोडिन पाउँदा एसपीए परिवार अन्तत्यै खुशी भएको छ ।’
आश्रमका संयोजक ढकालले सुदूरको शैक्षिक नेतृत्व हाकिँरहेको एसपीए कलेजले मानविय सेवामा देखाएको अग्रसरताप्रति सम्मान व्यक्त गरे । एसपीएको यस कार्यले अन्य संस्थाहरुलाई पनि मानवसेवामा लाग्न उत्प्रेरित गर्ने उनको भनाइ थियो । एसपीएले शुक्रबार एक समारोहकाबीच आफ्नो २५औं वार्षिकोत्सव मनाउँदैछ ।















