Dhulikhel Eco Banner new

‘बढेको ब्याजदरका कारण जिल्ला नगरका व्यवसायी बढी मारमा छन्’

6.29K
shares

काठमाडौं, ११ फागुन । पछिल्लो समय निजी उद्योग तथा व्यवसाय धरासयी अवस्थामा पुगेको छ । बजारमा देखिएको तरलता अभाव तथा बढेको ब्याजदरका कारण आफूहरु मारमा परेको व्यवसायीहरुको भनाइ छ । व्यवसायमा देखिएको समस्याले समग्र अर्थतन्त्रमा नै नकारात्मक असर परिरहेको कतिपयको भनाइ छ । यसै सन्दर्भमा पछिल्लो सयम व्यवसायको अवस्था र महासंघको आगामी चुनावमा केन्द्रित रहेर उद्योग वाणिज्य संघ तेह्रथुमका अध्यक्ष राजु ढुङ्गानासँग केटिएम भ्वाइसकर्मी पुजा माझीले गरेको कुराकानीको सम्पादित अंश :

पछिल्लो समय तेह्रथुमको व्यापार व्यवसायको अवस्था कस्तो छ ?

हाम्रोमा विकास शहर केन्द्रित मात्रै देखिन्छ । जसले गाउँको व्यापार व्यवसाय खासै छैन भन्दा हुन्छ । गाउँघर तिरको व्यपार व्यवसाय सुक्दै गएको छ । व्यपारमा मन्दी छाएको अवस्था छ ।

व्यवसायीहरुले भोग्नु परेका मुख्य समस्या के के छन् ?

अहिलेको मुख्य समस्या भनेको बैंकको बढेको ब्याजदर नै हो । जसले व्यवसायीहरु निकै मर्कामा परेका छन् । अझ जिल्ला नगरका साना व्यवसायीहरु त अझ बढी मर्कामा परेको अवस्था हो । बैंकहरुले पनि साना व्यवसायीहरुलाई सहयोग नगरेको अवस्था हो ।

व्यवसायीहरुलाई बैंकले गर्ने व्यवहार भने फरक–फरक छ । सानालाई र ठूला व्यवसायीलाई बैंकले गर्ने व्यवहार नितान्त फरक भएको हाम्रो अनुभव छ । त्यस्तै बैंकबाट हामीले ७ प्रतिशत ब्याजदरमा लोन लिएको भए पनि अहिले १४ प्रतिशत पुगेको छ । अनि बढाउँदा हामीलाई कुनै जानकारी पनि छैन । अर्को तर्फ बजारमा तरलता अभावका कारण उपभोक्ताको क्रयशक्ति पनि घटेको छ । यसबाट पनि व्यापारमा असर गरेको छ ।

अर्को तर्फ बैंकले मागेको ऋण पनि दिन सकेका छैनन् । अनि यो अवस्थामा कसरी व्यवसाय सञ्चालन गर्ने ? व्यवसायीलाई ऋणको भारी बोकायर बैंकहरु मोटाएको अवस्था छ । बैंकले नाफा मात्रै हेरेकाले साना व्यवसायीहरुलाई निकै गारो भइरहेको छ । यसबाट सबैभन्दा बढी प्रभाव परेको भनेकै हामी जस्ता साना तथा मझौला व्यवसायीलाई हो ।

पछिल्लो समय बढेको ब्याजदर कम गर्नका लागि राज्य र राष्ट्र बैंकले कस्तो नीति अपनाउनु पर्छ ?

व्यवसायीहरुको अहिलेको माग भनेको बैंकको ब्याजदर एकल विन्दुमा कायम गर्नु पर्छ भन्ने हो । त्यसका लागि राष्ट्र बैंक र नेपाल सरकारले उचित कदम चाल्नु पर्छ । यहि नीति कायम रहने हो भने बैंकले ऋण दिन नसक्ने अवस्था कायम रहन्छ र यसबाट समग्र अर्थतन्त्रमा नै नकारात्मक असर परेको छ ।

यी यावत कुराले गर्दा व्यवसायीहरु पलायन हुने अवस्था आएको छ । पत्रिकामा ऋण नतिरेको भनेर फोटो छापिरहेको छ । जसले गर्दा व्यवसायीलाई मानसिक तनाब पनि बढेको छ । व्यवसाय मैत्री वातावरण सिर्जना गर्नका लागि सबै पक्षले ध्यान दिनु पर्ने आजको आवश्यकता हो ।

बंैकको ब्याजदर बाहेक व्यापार व्यवसायमा अरु के–के समस्या छन त ?

अहिलेको मुख्य समस्या भनेको बैंकको ब्याजदर नै मुख्य समस्याका रुपमा रहेको छ । यी बाहेक पनि व्यवसायीका समस्याहरु रहेका छन् । जस्तै कच्चा पदार्थको अभाव, सरकारी पक्षबाट हुने झन्झटिलो प्रक्रिया लगायत पनि समस्या रहेका छन् । यी विषयमा सुधार गर्न जरुरी छन् ।

त्यस्तै स्थानीय स्तरमा उत्पादित वस्तु तथा सेवाले राम्रो बजार पनि पाउन नसकेका कारण पनि व्यवसायीहरु मारमा नै परेका छन् । कच्चा पदार्थ ढुवानीमा पनि समस्या नै रहेको छ । यसका साथै भर्खर व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुले बैंक बाट लोन नपाउने पनि समस्या रहेको छ ।

तेह्रथुममा स्थानीय उत्पादन चै के–के छन त ? उत्पादित वस्तु तथा सेवाले बजार कस्तो छ ?

तेह्रथुममा मुख्य गरी खाद्यान्न, ढाका, अदुवा, अलैँची, छुर्पी, अम्लिसो, तरकारी हो । उत्पादन गरेको वस्तुको ढुवानीको भने समस्या रहेको छ । ढुवानीमा भाडा निकै महंगो रहेको छ । जसले व्यवसायीले कम मूल्यमा बिक्री गरेको सामान पनि उपभोक्ताले भने निकै धेरै तिर्नु पर्ने अवस्था छ ।
उत्पादन गर्नका लागि नै समस्या रहेको छ । उत्पादन गरेपछि पनि बजारीकरणका लागि केही समस्या भने छ । ढुवानीको मूल्य बढी हुँदा कतिपय वस्तुहरु गोदाममै थन्किएको अवस्था छ ।

उद्योग वाणिज्य महासंघको चुनावमा तपाइले चै आगामी नेतृत्व कस्तो आउनु पर्छ जस्तो लाग्छ ?

महासंघको आगामी नेतृत्वले सबै व्यवसायीको पिरमर्कालाई बुझ्न सक्नु पर्छ भन्ने हो । ठूला व्यवसायीका विषयमा मात्रै महासंघले ध्यान दिएको हो कि भन्ने भान भइरहेको छ । यो अवस्थामा साना तथा मझौला व्यवसायीका विषयमा पनि महासंघको नेतृत्वले ध्यान दिनु पर्छ । व्यक्तिगत लाभकोभन्दा पनि व्यवसायीका विषयमा बोल्न सक्ने निडर नेतृत्व आएमा सबै व्यवसायीलाई राम्रा हुन्छ ।