Dhulikhel Eco Banner new

रुन बिर्सिएकी नारी : एक्ली आमा गुञ्जन

पुजा माझाी

9.48K
shares

संघर्ष के हो ? जीवन जिउनका लागि मान्छेले कतिसम्म संघर्ष गर्नुपर्छ ? हरेक मान्छेका आ–आफ्नै संघर्षका कथाहरु हुन्छन् । आज म एउटी कलिलो उमेरमा संघर्षले खारिएकी आमाको कथा लेख्दैछु । नाम गुञ्जन (२३), घर सुनसरी । १७ वर्षको कलिलो उमेरमा प्रेम विवाह । अनि सानै उमेरमा विधवा हुनुको पीडा । तिनै आमा जसले दुई सन्तानको खुसीका लागि संघर्ष गरिरहेकी छिन् हो आज म तिनै एक्ली आमा गुञ्जनको कथा पस्कदैछु ।

कमाउने र रमाउने उमेरमा माया बस्यो । प्रेम सम्बन्धको छोटो समयमा नै हामीले सँगै जिउने कसम खादै वैबाहिक यात्राको सुरुवात गर्यौ । रमाउने अनि कमाउने उमेरमा बसेको मेरो यो प्रेम चाँडै वैवाहिक सम्बन्धमा परिणत भयो । परिवारको स्वीकृति नमिलेकाले हामीले भागेर भएपनि हाम्रो प्रेमलाई सार्थक बनायौ । पूर्वीय समाजको एउटा ग्रामिण भेगमा बसेको हाम्रो यो प्रेम त्यही फक्राउने अनि फुलाउने निर्णय लियौँ । तर बिडम्बना ! मायाले मात्र पनि संसार धान्न गाह्रो रहेछ यहाँ ।

धन कमाउनको लागि उ बेला मदनले मुनालाइ छोडेर काशी गएझैँ, यो बेला मलाई पनि मेरो कान्छुले छाडेर परदेशिनु भयो । आफ्नो जन्म दिने बुवाआमाले पनि छुट्याउन नसक्नुभएको हामीलाई आज पैसाले छुटाइदियो । खुसी हाम्रो भाग्यमा कहाँ लेखिएको रहेछ र ! त्यसैले त कान्छा बिदेश गएको एक वर्ष नबित्दै बिरामी भएर नेपाल फर्कनुभयो । यो बेला मैले मेरो प्यारो मुटुको टुक्रा मेरो छोरालाई जन्म दिइसकेकी थिएँ ।

कान्छा विदेशबाट फर्कीदा आफ्नो पहिलो सन्तान, म लगायत परिवारलाई भेट्ने आशमा हाम्रा लाखौँ अधुरा सपनालाई साथैमा लिएर बिरामी शरिर बोकेर जसोतसो घर आईपुग्नुभएको थियो । दुईचार महिना राम्रै चले पनि आम्दानीको श्रोत ठप्प भएकाले हाम्रो दैनिकी अझ कष्टकर बन्दै गयो । एकातिर छोराको भविष्य टुलुटुलु हेरिरहेको छ । अर्काेतिर हाम्रो भविष्य टोलाइरहेको छ । अनि वर्तमानमा कान्छाको बिरामी शरिर हस्पिटलको बेडमा छ । केही सोच्न सकीनँ ।

छोरीमान्छेलाई भगवानले जन्मसिद्ध प्रयाप्त सहनशीलता दिएका हुन्छन भन्थे । साँच्चै २०, २१ वर्षको कलिलो उमेरमै मैले यो सबैलाई सहेर मन थामेर बसिरहेकी थिएँ । डाक्टरको रिपोर्टमा कान्छालाई क्यान्सर भएको देखियो । पैसा सबै कान्छाको उपचारमा सकिसक्यो । अब के गर्ने ? धेरै मान्छेका धेरै सुझाव थिए । एक जना छिमेकीले त भनेका थिए, ‘तैले तेरो बुढालाई बचाउन सक्दैनस बरु घरमा ल्याएर राख, उसको जीवनको जति दिन बचेको छ, खुसी दिने प्रयास गर ।’

अब छोराको भविष्य सोच भन्नेहरुको पनि कमी थिएन । तर पनि सास रहिन्जेल आस रहन्छ भनै जस्तै मैले हिम्मत हारिनँ । त्यसैले चन्दा उठाउन थाले, चन्दा उठाउदा कतिले सहानुभूति दिन्थे, कतिले हिम्मत र हौसला अनि कतिले त तितो जवाफ फर्काउथे । मन कटक्क चिरिन्थ्यो ।

तर जे होस, मेरो बाध्यता र परिस्थिति नै यस्तै थियो । मलाई जसरी पनि मेरो कान्छालाई बचाउनु थियो । मेरो सिउँदो पुछिनबाट रोक्नु थियो अनि मेरो अबोध बाबुलाई बुवाको माया र साथ दिनु थियो । त्यसैले म लाचार भएर मानिसको घरमा सहयोगको हात फैलाउँन जान्थे । मलाई यो अवस्थामा मेरो माईतिले धेरै साथ दिनुभयो । उहाँहरुप्रति म सधै कृतज्ञ रहनेछु ।

मैले सारा पैसा खर्च गरे कान्छा अलि ठिक हुनु भयो । हस्पिटलबाट डिस्चार्ज भएर घर पनि ल्यायौ । हाम्रो परीवारमा अलिअलि खुसि देखापर्न थाल्यो । तर त्यो खुसी पनि दैवलाई मञ्जुर रहेनछ । उहाँ फेरि बिरामी हुनुभयो । हुनत उहाँ कहिल्यै ठिक हुनु भएको थिएन । ठिक त केवल केही समयको लागि मेरो सोच अनि विस्वास भएको रहेछ ।

अबत अति भएकाले मैले आफै विदेशिने निर्णय लिए । म आफै विदेश जान खोज्नुको कारण थियो, उहाँलाई उपचार गर्न सकूँ । मेरो सानो छोरालाई राम्रो शिक्षा दिन सकूँ । विदेश जान पनि कहाँ सपजलो छ र । धेरै कोशिस गरे तर पनि जान सकिन । पछि फेरी हाम्रो जीवनमा अर्को प्यारो हाम्रो मायाको निशानी आयो । हो म फेरी गर्भवती भएकी थिए । समय घोडाको रफ्तारमा दौडिरहेको थियो । हस्पिटलमा कान्छाले खाना खान छोडिसक्नु भएको थियो । उसको प्यारो हट्टाकट्टा शरिरमा कङकालहरु देखिन थालेका थिए । अब ऊ लास्ट स्टेजमा थियो ।

त्यसैले अब सारा आस मारेर उस्लाई घरमा लिएर आयौँ । जसको लागि जन्म दिने बुवाआमालाई समेत लत्याएर आएकी थिए मैले, उसैले आज यति छोटो समयमै सधैको लागि मलाई एक्लो बनाएर जाँदैछ ।

ऊ बिनाको मेरो भविष्य म मात्र अन्धकार देख्थे, डराउँथे । तरपनि के नै गर्न सक्थेर । निशब्द उसलाई नियाल्न बाहेक । पेटमा हुर्किरहेको बच्चा सँगै कान्छाले पनि होस गुमाउदै गएको थियो । हामीलाई हतोत्साहित हुन नदिन र कान्छालाई रुङ्न दिनरात गाउँका मानिस आउथे । बचाउन हर कोशिस भयो । तर सम्भव भएन । एक दिन साझ उसले हामीलाई सधैको लागि । फेरि कहिल्यै नफर्कने गरी ।

घरको एक्लो छोरा ऊ । सबै घरको रौनक उसले साथैमा लिएर गयो । गाउँका सबैले उसका लागि आसु बगाइरहेका थिए । मेरो परिवारले मेरो र बाबुको लागि पनि आसु बगाइरहेका थिए । मलाई घर मसान घाट जस्तो लागिरहेको थियो । जहाँ मानिसहरु चिच्याईचिच्याई रोइरहेका छन् । गाउँका मानिसले हामीलाई सम्हालिरहेका छन ।

कान्छाको शरिर भुँईमा सुताएका छन । एकै छिनमा मेरो कान्छाको नामपनि फेरियो सबैले उस्लाई लास भनि सम्बोधन गर्न थाले । एउटा बाबु् घरको कुनै कुनामा रोईरहेको छ । अर्को पेटमा । बुढीआमा छोराको बियोगमा डाको छाडिरहेकी छिन । घर आँधिबेरिको भूमरीमा फसेको छ । यस्तो अवस्थाबाट म कसरी गुज्रिएँ होला ! त्यो आंकलन त तपाईहरु पनि लगाउन सक्नुहुन्छ ।

दोस्रो सन्तानको रुपमा पनि मैले अर्को छोरालाई जन्म दिएँ । समयसापेक्ष मेरो आसुनै मेरो तागत भयो । मेरो दुई छोराहरु नै, मेरो हिम्मत र साहारा । कान्छाले मलाई छाडेर गएपनि दुईओटा छोरालाई साहारा र उपहार स्वरुप दिनुभएको छ । आज म २३ बर्षको कलिलो उमेरमै .श्रीमती हैन मात्र आमा बनेर बाँचिरहेकी छु । समाजका विभिन्न लाञ्छनाहरुलाई सहदै दुई छोराकोृ भविष्यको लागि लडिरहेकी छु ।

मलाई थाहा छैन पछि मेरो छोराहरुले मेरो दुख बुझ्छन् या बुझ्दैनन् तर पनि उनीहरुलाई बुवाआमाको माया दिएर असल शिक्षा र संस्कारको साथमा हुर्काउनु मेरो कर्तव्य हो । मान्छेलाई कर्तव्य र जिम्मेवारीले कठोर भएर बाँच्न सिकाउँदो रहेछ ।