Dhulikhel Eco Banner new

आत्मनिर्भर लघुवित्तको आईपीओमा मागभन्दा ८० गुणा बढी आवेदन

5.46K
shares

काठमाडौं, १४ फागुन । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १ गतेदेखि निष्काशन गरेको आईपीओमा मागभन्दा ८० गुणा बढी आवेदन परेको छ । कम्पनीको शेयरमा १२ लाख बढीको आवेदन परेको छ ।

सिडिए एण्ड क्लियरिङ्गका अनुसार आइतबार साँझ ५ बजेसम्ममा १२ लाख २४ हजार १६ जना आवेदकबाट १ अर्ब ३६ करोड ८० लाख ३३ हजार रुपैयाँ बराबरको १ करोड ३६ लाख ८० हजार ३३० कित्ता शेयरको लागि आवेदन परेको हो ।यो सर्वसाधारणको लागि निष्काशन गरेको १ लाख ६९ हजार ७५५ कित्ता शेयरको ८०.५८ गुणा बढी हुन आउँछ ।

लघुवित्तले आफ्नो जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ लाख ३ हजार ३८० कित्ता शेयर सर्वाजनिक निष्काशनका लागि छुट्याएको थियो ।

सोमध्ये २० हजार ३३८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट गरिसकेको छ भने ३ हजार ११७ कित्ता शेयर कर्मचारीहरु तथा १० हजार १७० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् ।

लघुवित्तको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले फागुन १५ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओमा इन्च्छुक लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी सिंगल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज लिमिटेड रहेको छ ।