अर्थतन्त्रमा जटिल अवस्था आउनुको कारण पुँजी निर्माण हुन नसक्नु हो : उपाध्यक्षका उम्मेदवार आचार्य
वि.सं.२०७९ चैत २० सोमवार १६:२६
shares

काठमाडौं, २० चैत । नेपाल उद्योग वाणिज्य महासंघको एसोसिएट तर्फका उपाध्यक्षका उम्मेदवार भरत आचार्यले पुँजी निर्माण हुन नसक्नु अर्थतन्त्रको जटिलता भएको बताएका छन् । उमेशलाल श्रेष्ठ समूहको टिम घोषणा कार्यक्रममा बोल्दै आचार्यले यस्तो बताएका हुन् ।
राज्यको नीति रोजगारी सिर्जना गर्ने भए पनि रोजगारी सिर्जना गर्नमा समस्या भइरहेको उनको भनाइ थियो । महासंघले रोजगारी सिर्जनाका लागि नेतृत्व लिनु पर्ने उनले बताए । काम गर्ने तरिकाहरु परिवर्तन भएकाले सोही अनुसार काम गर्नु पर्ने आवश्यकता रहेको पनि उनले बताए ।
सरकारसँग यस विषयमा छलफल गरेर जानु पर्ने अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो । नीति निर्माण गरेर काम गर्नु पर्ने चुनौतिका साथै उत्पादकत्व बढाउने तर्फ महासंघले काम गर्नु पर्ने उनले बताए ।
अहिलेको जटिल अवस्थामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेर सकारात्मक सन्देश दिनु पर्ने पनि उनको भनाइ थियो ।


















