Dhulikhel Eco Banner new

राज्यको आम्दानी साधारण खर्च पनि धान्न नसक्ने अवस्थामा छ : अर्थमन्त्री महत

5.56K
shares

काठमाडौं, २७ चैत । इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ भएर जिम्मेवारी पूरा गर्न भन्सार विभागका कर्मचारीहरुलाई अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्देशन दिएका छन् । सोमबार भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो निर्देशन दिएका हुन् ।

‘म अर्थमन्त्रालयमा शोभा बढाउन आएको होइन, राजनीतिक नेतृत्व, कर्मचारी र उद्योग व्यवसायी सबै मिलेर अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान गरौं,’ उनले भने, ‘अहिले राजस्व घटेको छ । राजस्व घट्दा कर्मचारी दोषी छन भनेर कठघरामा उभिनुभएको छ भन्ने मेरो भनाइ होइन । राजस्व घटनुमा विभिन्न कारण छन् । हामी आफै कति कारक छौँ, त्यसको आत्ममूल्यांकन हामी सबैले गर्नुपर्छ । पछिल्लो समयमा चोरी पैठारी बढ्यो, यो चोरी पैठारी भन्सारभन्दा टाढाको बाटोबाट भएको छैन । भन्सार नाकाकै छेउछाउबाटै चुवाहट आएको छ, यो गम्भीर कुरा हो ।’

भन्सार विभागले मन्त्रालयलाई उपलब्ध गराएको रिर्पोटअनुसार २८ प्रतिशत भन्सार घटेको छ । विभिन्न भन्सार नाकाको भोलुमको कम्पोजिसन र भन्सार घट्नुमा कस्को कति योगदान छ भन्ने कुरा रिर्पोटले देखाउँछ । ‘भैरहवा भन्सारको सबैभन्दा धेरै घटेको छ । भैरहवा भन्सारबाट ४४ प्रतिशत घटेको छ । त्यहाँको प्रमुखलाई भनिसकेको छु, उहाँ आउनु हुन्छ र गम्भीर छलफल गर्नुपर्ने आवश्यकता मैले देखेको छु,’ मन्त्री महतले भने ।

‘महानिर्देशकलाई आग्रह गर्छु, विभिन्न भन्सार नाकाको आयातको प्रकृति के छ त्यसको रिर्पोट मलाई चाहियो । वस्तु आयातबाट भन्सार घटेको हो कि अर्को बाटोबाट भन्सार छलेर भित्रियो ? त्यसको ब्रेकडाउन मलाई चाहियो’, मन्त्री डा. महतले भने । त्रिभुवन विमानस्थल नाकाबाट पनि भन्सार राजस्व धेरै घटेको छ । त्यहाँ पनि चुहावट भएको खबर प्राप्त भएको छ । वीरगन्ज, रसुवा नाकाबाट पनि धेरै भन्सार राजस्व घटेको छ ।

यसलाई तपाईंहरुले गम्भीर रुपमा लिनु होला । मेरो लागि अरु कुनै मूल्यांकनको आधार छैन । कर्तव्यनिष्ठ भएर काम गर्ने, नतिजा देखाउनु होला,’ उनले भने । ‘आयात निर्यातमा संलग्न व्यवसायीहरुलाई अनावश्यक शुल्क लिने भनेको होइन । जहाज कुरा तपाईंहरुलाई थाहा, बुझ्नु भएको छ, तर कार्यान्वयन भइरहेको छैन, त्यतातिर म तपाईंहरुको ध्यानाकार्षित गराउन चाहान्छु,’ मन्त्री डा. महतले भने ।

अरु धेरै कारणले पन राजश्व घटेको उनको भनाइ छ । राजस्व घट्नुमा सम्पूर्ण कर्मचारीको मात्र नभएर सबैको जिम्मेवरी भएको उनको धारणा थियो । ‘प्रधानमन्त्री कार्यालयमै हामीले सुरक्षा निकायसँग बसेर बलियो निर्देशन पनि दिएका छौँ । सुरक्षा निकाय र भन्सार कर्मचारीको समन्वयमा भन्सार चुहावट रोक्नुपर्छ । अरु कारणबाट भन्सार चुहावट भएको छ भने त्यसको जानकारी हामीले पाउनुपर्छ,’ उनले भने ।

मोबाइल फोनमा सिस्टम लागू नगर्दा चोरी पैठारी बढेको भन्दै यसले पनि राजश्वमा कमी आएको उनले बताए । कर्मचारीले आफ्नो जिम्मेवारी उच्च कर्तव्यनिष्ठका साथ पूरा गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । राज्यको आयले साधारण खर्च धान्न नसक्नु दुर्भाग्य हो, यसबारे राजनीतिक नेतृत्व गम्भीर छ,’ उनले भने ।