काभ्रेबाट फरार प्रतिवादी २५ बर्षपछि काठमाडौंबाट पक्राउ
वि.सं.२०७९ चैत २७ सोमवार १८:४५
shares

काठमाडौं, २७ चैत । जिउ मास्ने बेच्ने मुद्दाको अनुसन्धानको क्रममा फरार एक प्रतिवादी २५ बर्षपछि पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार फरार प्रतिवादी प्रेम लामा भन्ने ओमबहादुर तामाङलाई आइतबार अपरान्ह ४ बजे पक्राउ गरिएको हो ।
अनुसन्धानको क्रममा वारदात पश्चात फरार भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले लामाको खोजी गरिदिन भन्दै प्रहरी कार्यालयहरुलाई पत्राचार गरेको थियो । २५ बर्षदेखि खोजीको सूचीमा रहेका ५९ बर्षीय लामालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार काठमाडौैं महानगरपालिका वडा नम्बर १५ स्वयम्भूस्थित भगवानपाउमा फेला पारि पक्राउ गरेको हो ।
लामालाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेलाई बुझाइएको पनि उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । लामा काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ३ का वासिन्दा हुन् ।



















