Dhulikhel Eco Banner new

उद्योग वाणिज्य महासंघको नेतृत्वका लागि मतदान जारी

4.49K
shares

काठमाडौं, २९ चैत । नेपाल उद्योग वाणिज्य महासंघकाे वरिष्ठ उपाध्यक्ष लगायतको पदका लागि मतदान जारी छ । मंगलबार उद्घाटन भएको ५७ औं वार्षिक साधारण सभाको दोस्रो दिन आज नेतृत्व चयनका लागि कमलादीस्थित प्रज्ञा भवनमा विहान १० बजेदेखि मतदान सुरु भएको हो । तर, प्रज्ञा भवनको मुख्यद्वारमा भीडभाड र होहल्ला भएपछि चुनाव रोकिएको थियो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा तीन जना प्रतिस्पर्धी छन् । वरिष्ठ उपाध्यक्षका लागि महासंघका वस्तुगततर्फका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, वस्तुगततर्फका वर्तमान उपाध्यक्ष अञ्जन श्रेष्ठ र एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघई प्यानलसहित मैदानमा छन् ।

त्यस्तै जिल्ला÷नगरतर्फको उपाध्यक्षका लागि ३, वस्तुगततर्फको उपाध्यक्षका लागि ३ र एसोसिएटतर्फको उपाध्यक्षका लागि २ जनाको उम्मेदवारी परेको छ । उमेशलालको प्यानलबाट जिल्ला÷नगरतर्फ उपाध्यक्षमा दिनेश श्रेष्ठले मनोनयन दर्ता गराएका छन् भने वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल र एसोसिएटतर्फको उपाध्यक्षमा भरतराज आचार्यले उम्मेदवारी दिएका छन् ।

त्यस्तै अञ्जन श्रेष्ठको प्यानलबाट जिल्ला/नगरतर्फ उपाध्यक्षमा अरुणराज सुमार्गी र वस्तुगततर्फ उपाध्यक्षमा मनीषलाल प्रधानले उम्मेदवारी दिएका छन् । श्रेष्ठले एसोसिएटतर्फको उपाध्यक्षका लागि उमेशलालकै प्यानलका भरतराज आचार्यलाई समर्थन गरेका छन् ।

संघईको प्यानलबाट उपाध्यक्ष पदमा जिल्ला नगरतर्फ सुरकृष्ण वैद्य, वस्तुगततर्फ सकुन्तलाल हिराचन र एसोसिएटतर्फ ज्योत्स्ना श्रेष्ठ उठेका छन् ।

निर्वाचनमा विभिन्न ६४ पदका लागि ११६ जनाले प्रतिस्पर्धामा छन् । ११८ जनाले मनोनयन दर्ता गराएकोमा लुम्बिनी प्रदेश सदस्यमा जमशेर मियाँ र द्विराष्ट्रिय सदस्यमा नेपाल–भारत उद्योग वाणिज्य संघका प्रतिनिधि सुनिल केसी निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला÷नगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगततर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाको उम्मेदवारी परेको छ । प्रदेश सदस्यतर्फ कोशीमा १ सदस्यका लागि ३, मधेसमा १ सदस्यका लागि २, बागमतीमा १ सदस्यका लागि २, गण्डकीमा १ सदस्यका लागि २, कर्णालीमा १ सदस्यका लागि ३ र सुदूरपश्चिममा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ ।