Dhulikhel Eco Banner new

चैत मसान्तसम्म राजस्व संकलनमा २३ प्रतिशतको गिरावट

6.34K
shares

काठमाडौं, ३ वैशाख । चालू आर्थिक वर्षको चैत मसान्तसम्म भन्सार विभागले गत वर्षको तुलनामा २३ प्रतिशत कम राजश्व संकलन गरेको छ । गत वर्षको चैत मसान्तसम्म ३ खर्ब ७१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको भन्सार विभागले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २ खर्ब ८५ अर्ब रुपैयाँ मात्रै संकलन गरेको हो ।

चालू आर्थिक वर्षको चैत मसान्तसम्म राजस्व विभागले लक्ष्यको करिब ५८ प्रतिशत मात्रै राजस्व संकलन गरेको विभागले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ । चैत मसान्तसम्म ४ खर्ब ९० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको विभागले २ खर्ब ८५ अर्ब मात्रै राजस्व संकलन गरेको हो । यो ९ महिनाको अवधिमा विभागले लक्ष्य लिएकोभन्दा ५८ प्रतिशत मात्रै हो ।

चालू आर्थिक वर्षमा आयात घटेकाले राजस्व संकलनमा गिरावट आएको भन्सार विभागले जनाएको छ । चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा १७ प्रतिशतले आयात घटेको विभागको तथ्यांक रहेको छ । गत वर्ष चैत मसान्तसम्म १४ खर्ब ६६ अर्ब बढीको आयात भएको थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा करिब १२ खर्ब १३ अर्ब रुपैयाँ बराबरको आयात भएको छ ।