Dhulikhel Eco Banner new

सीप विकासले रोजगारी र सशक्तिकरणमा टेवा पुग्छ : अध्यक्ष ढकाल

5.17K
shares

काठमाडौं, ७ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सीप विकासले रोजगारी र सशक्तिकरणमा टेवा पुग्ने बताएका छन् । बिहीबार आईएमई अटोमोटिभ एस्कर्टस्ले महिलाहरुलाई निशुल्क हेभी ईक्यूपमेन्ट अपरेटर, ब्याक हो लोडर, तालिमको सुरुवात गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

कार्यक्रममा अध्यक्ष ढकालले महासंघको अध्यक्षको रुपमास आफूले राखेका पाँचवटा प्राथमिकतामा सीपयुक्त जनशक्ति उत्पादनमा उच्च प्राथमिकतामा रहेको बताए । जनशक्तिलाई दक्ष बनाउन सकेमा उद्योग व्यवसायमा आवश्यक दक्ष जनशक्तिको अभाव पुरा हुने र वैदेशिक रोजगारमा जाँदा पनि प्रतिष्ठित र उच्च तलबमान पाउन सकिने उनको भनाइ थियो । आफूले सीपमूलक तालिम र दक्ष जनशक्ति उत्पादन तथा विकासमा विशेष पहल लिने अध्यक्ष ढकालले उल्लेख गरे ।

अध्यक्ष ढकालले महिलालाई सीप दिई दक्ष बनाउन सकेमा महिला सशक्तीकरणमा समेत विशेष योगदान पुग्ने उनको भनाइ थियो । यो तालिमले सीप आर्जन गरी रोजगारीको अवसर पाउने र महिलालाई हेर्ने पुरातन सामाजिक सोचमासमेत परिवर्तन आउने अध्यक्ष ढकालको विश्वास छ । ‘हामीले सवारी चालक भन्ने वित्तिकै पुरुषलाई बुझ्ने गर्छौँ । तर समय बदलिएकोसँगै, हेभी ईक्यूपमेन्ट अपरेटरमासमेत महिलाहरुले आफूलाई प्रमाणित गर्न सुरुगरिसकेका छन् । तपाईहरु पनि त्यो पुरातन सोच र धारणालाई परिवर्तन गर्दै ब्याक हो लोडरको तालिममा सहभागी हुनुभएको छ । तपाईहरुले राम्रोसँग तालिममा सहभागी भई सीप सिकेर दक्ष बन्न भरपुर प्रयास गर्नु होला । यसले सीप सिकेर रोजगारी मात्र होइन महिला सशक्तीकरणमा पनि ठूलो प्रभाव पार्नेछ,’ उनले भने ।

तालिममा सहभागी महिलाहरुलाई सुरक्षित र प्रभावकारीरुपमा ब्याक हो लोडर अपरेशन गर्न आवश्यक सबै किसिमका सीप तथा ज्ञान प्रदान गरिनेछ । तालिममा १५ जना महिलाहरु सहभागि छन् ।