तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचनको मतदान जारी
वि.सं.२०८० वैशाख १० आइतवार ०९:४५
shares

काठमाडौं, १० वैशाख । आइतबार विहानैदेखि तीन वटा निर्वाचन क्षेत्रमा मतदान कार्य जारी रहेको छ । चितवन–२, तनहुँ–१ र बारा–२ मा मतदान बिहानै देखि मतदान भइरहेको हो ।
आयोगबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउने व्यवस्था छ ।
तीन वटा क्षेत्रमा ६५ जना उम्मेदवार छन् । चितवन–२ मा ४३ मतदानस्थलमा १ सय ३८ मतदान केन्द्र छन् । चितवन–२ मा १ लाख २४ हजार ६ सय ९५ मतदाता रहेका छन् । चितवन–२ मा राजनीतिक दलका १२ र स्वतन्त्र १० उम्मेदवार छन् । २२ जना उम्मेदवार रहेको चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछाने, सत्ता गठबन्धनबाट कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठ र एमाले उम्मेदवार रामप्रसाद न्यौपाने मुख्य प्रतिस्पर्धी मानिएका छन् ।
तनहुँ–१ मा ६९ मतदानस्थलमा १ सय ५२ मतदान केन्द्र तोकिएको छ । तनहुँ–१ मा १ लाख २३ हजार ३ सय ५ मतदाता छन् । नौ जना उम्मेदवार रहेको तनहुँ १ मा सत्ता गठबन्धनबाट कांग्रेसका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णीम वाग्लेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
बारा–२ मा १ लाख ५ हजार ११ मतदाताका लागि ८२ मतदानस्थलमा १ सय ३६ मतदान केन्द्र छन् । त्यहाँ दलका ११ र स्वतन्त्र २३ जना गरी ३४ उम्मेदवार छन् । बारा २ मा सत्ता गठबन्धनबाट जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका शिवचन्द्रप्रसाद कुसवाह, रास्वपाबाट पूर्वडीआईजी रमेश खरेल र एमालेबाट पुरुषोत्तम पौडेलबीच प्रतिस्पर्धाको आकलन गरिएको छ ।



















