धितोपत्र बोर्ड कमाउ धन्दामा, नेप्सेका कर्मचारी आन्दोलित
वि.सं.२०८० वैशाख २४ आइतवार ०७:५१
shares

काठमाडौं, २२ वैशाख । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल यतिबेला लाइसेन्स वितरणका लागि भ्याई नभ्याई अवस्थामा छन् । उनले बोर्डको पुरै संरचनालाई लाइसेन्स वितरणमा केन्द्रित गरेका छन् ।
नयाँ स्टक एक्सचेञ्ज, बस्तु विनिमय बजार र नयाँ स्टक ब्रोकर कम्पनीहरुका लागि बोर्डले धमाधम लाइसेन्स वितरण गर्दैछ । छदाखादाको सरकारी लगानीको नेपाल स्टक एक्सचेञ्जलाई सिध्याउने खेल भएको भन्दै नेप्सेका कर्मचारीहरु भने यतिबेला आन्दोलित छन् ।
बोर्डका अध्यक्ष हमालले नयाँ स्टक एक्सचेञ्ज सञ्चालनका लागि चर्चित मध्यस्थकर्ता दीपक भट्टको गुरुयोजना अनुसार काम गर्दैछन् । माडबाडी समूदायका ठूला व्यापारिक घरानाहरुलाई नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिने अध्यक्ष हमालको तयारी छ ।
नेप्सेका कर्मचारीहरू त्यसको विरोधमा उत्रिएका छन् । नेप्सेका कर्मचारीहरूले नयाँ स्टक एक्सचेञ्जको आवश्यकता नै नरहेको भन्दै विरोध गरेका हुन् ।
उनीहरूले नयाँ स्टकका लागि अनुमति पत्र बाँड्न जरुरी नै नरहेको भन्दै साङ्केतिक आन्दोलन सुरु गरेका छन् । नेप्से कर्मचारी संघका अध्यक्ष नवराज थापाले नेप्सेलाई नै पुनर्संरचना गर्नु पर्ने र यही वर्षभित्र नयाँ प्रविधियुक्त संस्थाकारुपमा दर्बिलो बनाउने पर्ने माग राखेको बताए । उनले यसका लागि व्यवस्थापनलाई ज्ञापन पत्र बुझाएको समेत बताए ।
नेप्सेको आईपीओ तुरुन्तै जारी गर्नु पर्ने र त्यसलाई नै कर्पोरेट कम्पनीकारुपमा विकास गर्न यसको ३० प्रतिशत शेयर निजी क्षेत्रलाई बिक्रीगरि पुनर्संरचना गर्नु पर्ने उनीहरूको माग छ ।

















