Dhulikhel Eco Banner new

उदयपुर सिमेन्ट उद्योगको नाफा ४ करोड ९२ लाख

6.24K
shares

उदयपुर, २९ वैशाख । सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योगले आर्थिक बर्ष २०७८÷७९ मा करिव ५ करोड आम्दानी गरेको छ । उद्योगको शुक्रबार सम्पन्न ३५ औं बार्षिक साधारण सभामा प्रस्तुत बार्षिक प्रतिवेदन अनुसार सिमेन्ट ४ करोड ९२ लाख ५६ हजार रकम नाफा आर्जन गरेको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा उद्योगका उत्पादन पनि वृद्धि भएको छ । उद्योगले आर्थिक बर्ष २०७७÷७८ को तुलनामा आब ०७८/७९ मा करिब २३ प्रतिसत बढि उत्पादन गर्न सफल भएको वार्षिक साधारण सभामा जानकारी गराइएको छ ।

प्रतिवेदनका अनुसार आब ०७७÷७८ मा १७ लाख ६७ हजार बोरा सिमेन्ट उत्पादन हुदाँ ३० करोड नोक्सानी भएकोमा रहेको थियो । आर्थिक वर्ष ०७८/७९ मा २१ लाख ७२ हजार बोरा सिमेन्ट उत्पादन गरी नाफा आर्जन गर्न सफल भएको उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेले जानकारी दिए ।

उद्योगले एक बर्षमा १ अर्ब ६१ करोड २५ लाख आम्दानी गरेको छ भने हालसम्म उद्योगको संञ्चित नाफा ५८ करोड १४ लाख ६६ हजार रहेको महाप्रबन्धक न्यौपानेले बताए । सिमेन्ट उद्योगको वार्षिक साधरण सभाको उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजालले सरकारी स्वामित्वको उद्योगलाई बचाउन आगामी बजेटमा विशेष व्यवस्था गर्ने बताए ।

उदयपुर सिमेन्ट उद्योगमा सरकारले थप लगानी गर्न मन्त्रालयले एक कार्यदल गठन गरेको र सो कार्यदलको प्रतिवेदनको आधारमा लगानीको स्वरुप प्रष्ट हुने मन्त्री रिजालको भनाइ थियो । मन्त्री रिजालले उदयपुर सिमेन्ट उद्योगमा काम नै नगरि ओभरटाईम सेवा लिने प्रवृतीलाई दुरुत्साहित गर्नु पर्ने पनि बताए ।

साधरण सभाले विराटनगर जुटमिल्सले २०५१ सालमा ऋण लगेको ३४ लाख रकम असुल गर्न विराटनगर जुटमिल्सको नाममा रहेको ३ विगाहा १२ कठ्ठा जग्गा रोक्का राख्ने निर्णय समेत अनुमोदन गरेको छ ।