मनकामना पुग्ने दर्शनार्थीको संख्या बढ्यो, वैशाखमा मात्रै पुगे १ लाख बढी भक्तजन
वि.सं.२०८० जेठ १ सोमवार १८:०२
shares

काठमाडौं, १ जेठ । गोरखाको मनकामना केबलकार चढ्ने यात्रुको संख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षको वैशाख महिनासम्म मनकामना दर्शन गर्न जानेको संख्यामा वृद्धि भएको हो ।
कोभिड नियन्त्रण हुँदै जाँदा मनकामना दर्शन गर्न आउने भक्तजनको आवागमनमा वृद्धि भइरहेको छ । अहिले दैनिक औसत ४ हजार भन्दा बढी भक्तजन र यात्रुले त्यहाँ पुग्ने गरेका छन् । वैशाख महिनामा मात्रै १ लाख २६ हजार यात्रुले केबलकार सेवा लिएको छन् । चालु आर्थिक वर्षको वैशाख महिनासम्म केबलकार सेवा लिने यात्रुको संख्या ८ लाख ७० हजार पुगिसकेको छ । आउँदो असारसम्म सेवाग्राही संख्या साढे १० लाख पुग्ने प्रक्षेपण रहेको छ ।
पछिल्लो समय भारतीय पर्यटकको आवागमनमा उल्लेख्य वृद्धि भएको छ । कम्पनीले मनकामना केबलकार केही समयअघि एनालगबाट डिजिटल प्रणालीमा स्तरोन्नतिको गरिसकेको छ । केबलकारको टावर, गोन्डोला, बुलह्वील लगायत उपकरण भने साबिककै रहेको छ । यो केबलकार नेपालकै पहिलो डिजिटल कनेक्ट सिस्टम सहितको केबलकार भएको कम्पनीले जनाएको छ ।



















