GBIME

म त छोरी हुँ नि

12.56K
shares

ओइ नानी हिँड आज जात्रा जाउँ ।
नाँइ दाई म जाँदिन अहिले फेरी छरछिमेकीले देखे भने मलाई के सोच्लान ? त्यसैले तपाई जानुस् म जादिँन् । तपाई पो छोरा मान्छे हुनु्हुन्छ तपाई जहाँ जाँदा पनि जे गर्दापनि केहि हुदैन । तर म त छोरी मान्छे मेरालागी यो समाजको नियमहरु धेरै बनेका छन् त्यसैले म जान्न, तपाई जानुस् ।

उहाँले ढिपी कस्न लाग्नुभयो : ‘त किन यस्तो कुरा गर्छेस् हिड खुरुखुरु म सँग ।’ तलाई आज म जात्रा घुमाउछु ।

त्यो दिन त निकै रमाइलोसँग बित्यो । जुन दिन म आफ्नो दाईसँग जात्रा हेर्न गए त्यो दिनदेखि मसँग मेरी नजिकको छिमेकी आन्टीले गर्ने व्यवहार बोल्ने शैली निकै रुष्ट र तितो हु्न थाल्यो । उहाँ चाहानुहुन्थ्यो म लगायत गाउँका छोरीचेली घरदेखि विद्यायलभन्दा अन्त कहिँ कतै नजाउन् ।

छोरीलाई आफ्नो जीवनमा अघि बढ्न प्रेरणा दिनु्, उनीहरुको सपना र लक्ष्यमा साथ दिनु् त परको कुरा हो उनीहरुको इच्छा चाहानालाई पनि सोध्ने गरिदैन । हो म पनि त्यै समाजको छोरी हुँ । मलाई समाजको यो नीति नियम मन नपर्दा पनि म केहि बोल्न सकेकी हुन्न । मैले केहि बोले भने त मलाई संस्कार नसिकेकी, चरित्रहिन जस्ता शब्दले सम्बोधन गरिन्छ, मेरो परिवारमाथि औंला उठाइन्छ । अनि म डराउँछु ।

मलाई डर लाग्छ छोरी शब्दबाट । मेरो शरिर सिरिङ्ग हुन्छ जब म सुन्छु कसैको घरमा छोरी जन्मिइन रे भनेको सुन्दा । अनि लाग्छ अब उनको पनि यो समाज, परिवारको लागी नै आफ्नो जीवन समर्पण गर्नुपर्छ ।

दाइ जहाँ पनि जान बस्न सक्ने हाम्रो समाजमा म एकदिन कुनै साथीकोमा जान मिल्दैन, कोहि केटा मान्छेसँग बोलचाल गर्न मिल्दैन, दाई हिडेको जसरी म हिड्न मिल्दैन, दाई बसेको जसरी बस्न मिल्दैन किनकी म छोरी हुँ । भोलि अर्काको घर जाने मान्छे भान्साको सबै काम मैले जानेको हुनुपर्छ । म आफुलाई बोल्न मन लागेको समयमा बोल्न सक्दिनँ । मन्दिर जान मन लाग्दा मन्दिर जान सक्दिँन किनकी म छोरी हुँ नि । विद्यालयमा जाँदा, बस्दा हिड्दा आफुलाई कहाँ सहज हुन्छ भनेर हेरेर बस्नुपर्छ, हिड्नुपर्छ । अरुको गल्ती हुँदा हुँदै पनि गाली त मैले नै खान्छु नि हैन र किनकी म छोरी हुँ नि है ।

मलाई पनि लाग्छ म पनि स्वतन्त्र रुपमा दाईभाई जस्तै हिड्न सकुँ । यो खुला संसारमा स्वतन्त्रताको पंखा फिजाई उड्न सकुँ। मलाई र मेरा दाईभाईलाई गर्ने व्यवहार र हेर्नेदृष्टिकोणमा समानता छाओस् । तर यो त मेरो मनमा लागेका इच्छा न हो । पुरा हुने कुनै आशा नै छैन । किनकी म छोरी हुँ । यहाँ मैले कराएर, चिच्याएर भनेका कतिपय समस्याको त सुनुवाई हुँदैन यहाँ अझ मेरो मौनताको आवाजलाई कसरी बुझ्न सक्थे र ?

भनिन्छ नि छोरीको इज्जत एउटा काँचको ऐनामा सिमित हुन्छ । एक पटक टुटेपछि जोडिँदैन । एउटी छोरीमा भएको इज्जत सेतो कपडामा सिमित रहन्छ । जसमा कुनै दाग लाग्यो भने कहिलै पनि मेटिदैन । हो सबै समाजले यस्तै नियमहरु राखेका हुन्छन् ताकी छोरीको कारण आफ्नो इज्जतमा केहि खलबल नहोस् । छोरीहरुले यो बन्धन चुडालेर कतै जान नसकुन् ।

एउटी छोरी जब १२ कक्षासम्मको पढाई परिवार कै साथमा बसेर पढ्दै आएकी हुन्छे त्यतिबेलासम्म घर नछाडेकी छोरी अब उच्च शिक्षाका लागि सहर जानुपर्ने हुन्छ । म घर छाडेर जान तयार हुन्छु तर मेरो मनमा फेरी त्यहिँ कुराको सम्झना आउँछ ए म त छोरी पो हुँ । मलाई पढ्ने इच्छा धेरै भएकाले म जिन्दगीमा आउने बाधा अड्चन सबै झेल्न तयार हुन्छु । म पढाईसँगै केहि गर्ने र जिन्दगीमा छोरी मान्छेले पनि केहि गर्न सक्छन् है भन्ने उदाहरण बन्न चाहन्छु ।

यी विभिन्न कुराहरु मनमा खेलाउँदै म सहर पुग्छु । सहरका ति गल्लीहरुमा हिडेका हुनेखाने मान्छेको व्यवहार पनि म देख्छु । म कसैसँग बोल्ने जमर्को समेत गर्न सक्दीन । किनकि कसैसँग बोल्नै लाग्दा मलाई लाग्छ कि म छोरी हुँ । म कसै नचिनेको मान्छेसँग चिनजान गर्नुहुँदैन । म बोल्दै गर्दा मेरा कोहि छिमेकीहरु देखेँ भने ? यस्तै कुराहरुले गर्दा म कसैसँग नबोलि हिडिरहेकी हुन्छु ।

समय बित्दै जान्छ यो सहर हो नि जहाँ काम नगरि बसेर पानी पनि पिउन नपाइने ठाउँ । यो सहरको परिवेश देख्दा मलाई खुब घरको याद आउँछ । तर म सम्झन्छु कि गाउँका हुनेखानेले गरेका ति व्यवहार अनि आमाको फाटेको चोली बाबा सानै छँदा छाडेर गएकाले आमाले भोग्नुपरेको समस्या । म बाबाको सबै जिम्मेवारी आफुमा छ है भन्ने सोचेर हिडेकी हुन्छु ।

यसै क्रममा म कामको खोजिमा निस्किन्छु । कपडा पसलमा काम गर्ने सोच बनाएर म एक कपडा पसलमा छिर्छु । त्यहाँ राति ७ बजेसम्म बस्नुपर्ने हुन्छ त्यहाँदेखि कोठा सम्मको दुरी निकै टाढा छ । काठमाडौंको जाममा करिब डेढ घण्टा लाग्छ फेरी त्यहाँ मेरो मनमा कुरा खेल्छ ए म त छोरी पो हो त । त्यति रातिसम्म बाहिर बस्न मिल्दैन नि म त्यहाँबाट निस्किन्छु ।

म मा केहि गर्छु भन्ने भाव आउँदा आउँदै पनि समाजले बनाएका ति नीति नियमले मलाई निकै असहज भइरहेको हुन्छ । न म ति नीती नियम तोड्न सक्छु न आफ्ना जिम्मेवारीलाई विर्सन । म फेरी कामको खोजीमा निस्किन्छु ।

यो क्रम निकै समय चलिरहन्छ । जुन ठाउँमा जाँदा पनि म छोरी हो भन्ने कुराले कहिँल्यै छाडेन । म जुन ठाउँमा पनि काम गर्न तयार हुँदा पनि मेरो मनमा आमाले भनेका त्यहिँ कुरा झलझली आइदिन्छ । ‘नानी छोरी मान्छे भएपछि यस समाजले बनाएका नीति नियम तोड्न मिल्दैन है ।’

समय परिवर्तन भयो सालहरु फेरिए, विकास, उन्नती, प्रगतिका काम जति नै भएपनि बोल्ने शैलीमा मात्रै फरक भए छोरीहरुका लागी समाजमा बनेका नीति नियम जस्ताको त्यस्तै छ । त्यसैले अब सबै मिलेर संकृतिको नाममा भएका कुसंस्कृतिको अन्त्य गर्नुपर्छ ।