नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनेबारे ध्यान गएको छ : प्रधानमन्त्री प्रचण्ड
वि.सं.२०८० जेठ २८ आइतवार १५:२०
shares

काठमाडौँ, २८ जेठ । पुष्पकमल दाहाल प्रचण्डले, नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउने सम्भावनातर्फ नेपाल सरकारको विशेष ध्यान गएको बताएका छन् । आइतवार दिउँसो धुलिखेलमा आयोजित काठमाडौं विश्वविद्यालयको २८ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले भने, ‘ नेपाललाई इन्जिनियरिङ, चिकित्साशास्त्र, सूचना एवम् डिजिटल प्रविधि, वातावरण विज्ञान आदि विषयमा उच्च शिक्षाको ‘हब’ बनाउने सम्भावनातर्फ नेपाल सरकारको विशेष ध्यान गएको छ । अहिले मस्यौदा भइरहेको सरकारको वाणिज्य नीतिले पनि शिक्षा सेवालाई निर्यातयोग्य सम्भावनाको क्षेत्रका रूपमा पहिचान गरेको छ।’
त्यस्तै प्रधानमन्त्रीले विश्वविद्यालयहरूमा स्नातकोत्तरमा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने र स्नातक तहमा बढी अभ्यास र सिकाइमा जोड दिनुपर्ने बताएका हुन् । ‘हाल सञ्चालनमा रहेका सबै विश्वविद्यालय र उच्च शैक्षिक संस्थाहरूले पठनपाठन र अनुसन्धानको शैली परिवर्तन गर्न आवश्यक छ । खासगरी विश्वविद्यालयहरूमा स्नातकोत्तर तहका पाठ्यक्रममा अनुसन्धान र नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने हुन्छ ।
स्नातक तहमा बढी अभ्यासमुखी र सिकाइमा जोड दिनुपर्ने हुन्छ । अनुसन्धानले समाजमा प्रभाव र परिवर्तन ल्याउन नसक्दा साधन र स्रोतको सही सदुपयोग हुँदैन ।’ प्रधानमन्त्रीको भनाई उद्धतगर्दै उनको सचिवालयले भनेको छ, ‘काठमाडौँ विश्वविद्यालयले आफ्नो स्थापनाको ३२ वर्षमा विभिन्न संकायमा ४१ हजारभन्दा बढी विद्यार्थीले उच्च शिक्षा हासिल गरेका छन् । आज थप १२०० विद्यार्थी दिक्षित भएका छन् ।’
काठमाडौँ विश्वविद्यालयबाट उत्पादित शैक्षिक जनशक्तिमध्ये १३ प्रतिशतभन्दा बढी दीक्षितहरू ५५ भन्दा बढी मुलुकका विदेशी नागरिकहरू भएको बताइएको छ ।
केही वर्षयता नेपालमा विश्वविद्यालय स्थापनाको होडबाजी चलेको भन्दै प्रधानमन्त्रीले प्रदेश र केन्द्रीय सरकारबाट नयाँ विश्वविद्यालय खोल्नुअगावै स्थापना हुन लागेको विश्वविद्यालयका लागि साधनस्रोतको सुनिश्चित गर्नु आवश्यक रहेको बताए ।















