६ करोड लगानी ड्रिम वल्ड अर्थात सपनाको संसार सञ्चालनमा
वि.सं.२०८० मंसिर १६ शनिवार ११:१०
shares

काठमाडौं, १६ मंसिर । चन्द्रागिरि नगरपालिका वडा नंं.७ स्थित घुमाउनेटोलमा शनिबारदेखि ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ पार्क सञ्चालनमा आएको छ । निरन्तर १८ महिना निर्माण कार्य गरेर नेपालमा हालसम्मकै सबैभन्दा ठूलो क्षेत्रफल र लगानीमा सो एम्यूजमेन्ट अर्थात मनोरञ्जन पार्क सञ्चालनमा ल्याइएको हो।
६ करोड लगानीमा निर्मित तथा ५ रोपनी क्षेत्रफलमा रहेको चार तल्ले भवनको तीन वटा तल्ला रमाइला थ्रीडी आर्ट तथा विभिन्न आकृतिहरुको भरिएका छन् ।पर्याप्त पार्किंग स्थल सहितको सो पार्कमा आउने आगन्तुकका लागि विभिन्न परिकारहरूसंग रमाउन फास्टफुड क्याफे तथा रेस्टुरेन्ट पनि संचालन गरिएको छ।
यस सम्बन्धि जानकारी गराउने उद्देश्यले आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा पार्कका अध्यक्ष सुमन किशोर पुनले आधुनिक तथा ब्यस्त जीवनशैली,बढ्दो शहरीकरणका कारण मानिस साँघुरो क्षेत्रमा सीमित भै उकुस(मुकुस वातावरणमा आफ्नो दिनचर्या खुम्च्याउनुपर्ने अवस्थामा रहेको,घुमफिर गरेर आनन्द लिने र शरीर तथा मनलाई पुनर्ताजगी दिने वस्तु तथा स्थलको माग दिन दिनै बढ्दै गैरहेकोले ड्रिम वर्ल्डको परिकल्पना गरिएको बताए। उनले पत्रकारहरूको जिज्ञाशालाई सम्बोधन गर्दै भनुभयो स्ूड्रीमवर्ल्ड एउटा घरभित्र निर्माण गरिएको मनोरञ्जनात्मक पार्क हो ।यो एउटा सपनाको संसार नै हो। यस घरभित्र नयाँ र आकर्षक विषेश प्रविधियुक्त बस्तु,चित्र तथा मनोरञ्जनका साधनहरूबाट नौलो र रोचक अनुभवहरू प्राप्त गर्न गर्न सकिन्छ।सबै उमेरका ब्यक्तिहरू यहाँ भिडियो तथा तस्बिरहरू खिच्दै यहाँ भएको रेस्टुरेन्टमा विभिन्न परिकारहरू खाँदै रमाउन सक्छन्।
नेपालमै पहिलोपटक कम मूल्यमा एकै ठाउँमा त्यो पनि एउटै भवन भित्र धेरै सुबिधा प्राप्त गर्न सकिने गन्तव्यका रुपमा यसलाई विकास गरिएको जानकारी गराउंदै उहाँले काठमाण्डौ उपत्यकाको भिडभाडबाट केही पर गएर शान्त प्राकृतिक वातावरणमा रम्न चाहानेहरूका लागि चंद्रागीरिमा अवस्थित यो क्षेत्र आफैंमा महत्वपूर्ण रोजाइमा पर्न सक्छ भन्ने विश्वाश लिएको बताए ।
ड्रिम वर्ल्ड भित्रका आकृति तथा संरचनालाई क्रमशस् थ्रीडी आयामको भ्रम, दिव्य कोठा, भ्रमको हल, बलहरूको क्षेत्र, बालबालिका क्षेत्र, प्रेमको यात्रा, इन्टरगालेक्टिक स्पेस गरेर सात सेग्मेण्टमा बाँडिएको छ। ब्यस्त जीवनबाट थकित र पट्यार लागेको मानसिकतालाई पुनर्ताजगी दिन, आफ्ना नानीबाबुहरूलाई पनि केही सिक्न र सिकाउन ‘ड्रिम वर्ल्ड एम्यूजमेन्ट’ एउटा उचित गन्तव्य बनेको देखिन्छ । भविष्यमा दर्शकको मागलाई ध्यानमा राखेर खेल तथा मनोरन्जनका लागि यहाँ अन्य थप प्राविधिक तथा सिर्जनात्मक वस्तु तथा प्रस्तुतिहरू जोड्दै जाने हो भने थप आकर्षण बढाउंदै जाने देखिन्छ। शनिवारदेखि १ महिनासम्म सबै आगन्तुकहरूलाई सेवा सुरु भएको अवसरमा नियमित टिकट मूल्यमा २५ प्रतिशत छुट गरेर प्रतिव्यक्ति ४५० मात्र कायम गरिएको जानकारी ड्रिम वर्ल्डले दिएको छ।


















