राष्ट्र बैंकमा ८ उपनिर्देशकको निर्देशकमा बढुवा
वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२०
shares

काठमाडौं, १६ वैशाख । नेपाल राष्ट्र बैंकले आठ जना उपनिर्देशक (अधिकृत द्वितीय) लाई निर्देशक (अधिकृत प्रथम) पदमा बढुवा गरेको छ।
केन्द्रीय बैंकले सूचना जारी गर्दै कर्मचारी विनियमावली, २०६८ को विनियम ५३ अनुसार योग्यताक्रम र कुल प्राप्त अंकका आधारमा बढुवा गरिएको जनाएको हो।
बढुवा सूचीमा पहिलो नम्बरमा सम्झना ढकाल परेकी छन्। उनी भुक्तानी प्रणाली विभागमा कार्यरत छन्। दोस्रो नम्बरमा नविना ढकाल (गैर–बैंकिङ्ग वित्तीय संस्था सुपरिवेक्षण विभाग) र तेस्रो नम्बरमा संजीव कुमार झा (विदेशी विनिमय व्यवस्थापन विभाग) रहेका छन्।
त्यसैगरी सुमन नेउपाने (गभर्नरको कार्यालय), पुष्पा अधिकारी (बैंकिङ्ग विभाग), मोहन पुडासैनी (सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग), कमल प्रकाश कालाथोकी (आन्तरिक लेखापरीक्षण विभाग) र शिखा अधिकारी (वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा) पनि बढुवा सूचीमा परेका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार बढुवाको अन्तिम योग्यताक्रममा परेका उम्मेदवारले कुल १८९.७५ अंक प्राप्त गरेका छन्।



















