Dhulikhel Eco Banner new

वीरगन्ज नाकाबाट २६ अर्ब १३ करोड बराबरका सवारीसाधन र पार्टपुर्जा आयात

949
shares

काठमाडौं, १६ वैशाख । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको ९ महिनामा २६ अर्ब १३ करोड रूपैयाँ मूल्य पर्ने सवारीसाधन र पार्टपुर्जा आयात भएको छ। गत आर्थिक वर्षको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ६ अर्ब ९४ करोड रूपैयाँ अर्थात् ३६.१९ प्रतिशत बढीको आयात भएको हो। जबकि गत आवको ९ महिनामा भने १९ अर्ब १९ करोड मूल्य पर्ने सवारीसाधन र पार्टपुर्जा भित्रिएको थियो।

वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा सवारीसाधन र सोमा प्रयोग हुने पार्टपुर्जाको आयातमा बढोत्तरी भएको बताए । चालु आवको नौ महिनामा सवारीसाधनमा प्रयोग हुने पार्टपुर्जाको आयातबाट मात्रै १८ अर्ब २२ करोड रूपैयाँ राजस्व सङ्कलन भएको छ। जबकि गत आवको सोही अवधिमा भने सवारीसाधन आयातबाट मात्रै १४ अर्ब ८४ करोड रूपैयाँ राजस्व सङ्कलन भएको थियो।

चालु आवको ९ महिनामा एक अर्ब १७ करोड रूपैयाँ मूल्य पर्ने ५९१ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएको छ। गत आवको सोही अवधिमा भने एक अर्ब ६६ करोड रूपैयाँ मूल्य पर्ने ८०५ वटा इन्धनबाट चल्ने जीप, कार र भ्यान आयात भएको थियो। चालु आवको नौ महिनामा छ अर्ब ४२ करोड रूपैयाँ मूल्य पर्ने ४५ हजार ६२० वटा मोटरसाइकल (अन एसेम्वल्ड) आयात भएको छ। जबकि गत आवको नौ महिनामा भने चार अर्ब ६७ करोड रूपैयाँ मूल्य पर्ने ३५ हजार ७९९ वटा मोटरसाइकल (अन एसेम्वल्ड) आयात भएको छ।

त्यस्तै,चालु आवको ९ महिनामा दुई अर्ब चार करोड रूपैयाँ मूल्य पर्ने २१ हजार ६३९ वटा ट्याक्टर तथा टिलर आयात भएको छ। जबकि गत आवको ९ महिनामा भने एक अर्ब ३५ करोड रूपैयाँ मूल्य पर्ने १३ हजार ८६१ वटा ट्याक्टर तथा टिलर आयात भएको छ।

चालु आवको ९ महिनामा दुई अर्ब ९८ करोड रूपैयाँ मूल्यका विद्युतीय सवारीसाधन भित्रिएको छ। गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधारमा विद्युतीय सवारीसाधनको आयात १०२ प्रतिशत अर्थात् एक अर्ब ५० करोड रूपैयाँ बढी आयात भएको हो । जबकि गत आवको नौ महिनामा भने एक अर्ब ४८ करोड रूपैयाँ मूल्यका विद्युतीय सवारीसाधनको आयात भएको छ।

चालु आवको नौ महिनामा एक अर्ब ४६ करोडरूपैयाँ मूल्य पर्ने ४९३ वटा विद्युतीय जीप, कार र भ्यान आयात भएको छ। जबकि गत आवको सोही अवधिमा भने ४८ करोड रूपैयाँ मूल्य पर्ने १७२ वटा विद्युतीय चल्ने जीप, कार र भ्यान आयात भएको थियो।