महावीर पुनको सम्पत्ति करिब २६ रोपनी जग्गा, ३ तोला सुन र २९ लाख नगद
वि.सं.२०८३ वैशाख १६ बुधवार ११:२१
shares

काठमाडौं, १६ वैशाख । प्रतिनिधि सभाका स्वतन्त्र सांसद महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले स्वस्फूर्त रूपमा विवरण सार्वजनिक गर्दै पारदर्शितामा जोड दिएका हुन्।
पुनका अनुसार आफूले यसअघि शिक्षामन्त्री हुँदा पनि सम्पत्ति विवरण बुझाएको भए पनि तत्कालीन सरकारले त्यसलाई सार्वजनिक नगरेको बताएका छन्।
सार्वजनिक गरिएको विवरणअनुसार पुनको नाममा कास्कीको माझठाना–७ मा चारवटा कित्तामा २६ रोपनीभन्दा बढी जग्गा रहेको छ। ती जग्गा स्वआर्जनबाट खरिद गरिएको र केही रकम अमेरिका बसाइँबाट बचत भएको उनले उल्लेख गरेका छन्।
उनले उक्त जग्गा पदम पुनसँग मिलेर किनेको र राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि बिक्रीमा राखिएको जनाएका छन्। तर हालसम्म बिक्री नभएको उनले बताएका छन्।
सम्पत्ति विवरणमा ३ तोला सुन श्रीमतीसँग रहेको उल्लेख छ, जसको स्रोत इस्टमित्रबाट उपहारस्वरूप प्राप्त भएको जनाइएको छ।
त्यस्तै, दुई बैंक खातामा गरी करिब २९ लाख रुपैयाँ मौज्दात रहेको पुनले बताएका छन्। नेपाल बैंक लिमिटेडमा रहेको खातामा करिब ४ लाख रुपैयाँ साथीहरूबाट प्राप्त सहयोग भएको र राष्ट्रिय वाणिज्य बैंकमा रहेको करिब २५ लाख रुपैयाँ निर्वाचनका लागि संकलित सहयोग तथा खर्चबाट बचत भएको उल्लेख गरेका छन्।
उक्त रकम आफ्नो निर्वाचन क्षेत्रका मतदाताको सहयोगका लागि बेनीमा सञ्चालन गरिने कार्यालयमार्फत खर्च गरिने उनको योजना छ।
पुनले आफूसँग कुनै सेयर, धितोपत्र, सवारीसाधन वा ऋणसम्बन्धी दायित्व नरहेको स्पष्ट पारेका छन्। साथै कृषि तथा पशुधनसमेत नभएको उल्लेख गरेका छन्।
उनले आफ्नो आत्मकथा पुस्तक २ लाख ५० हजार प्रति बिक्री भई करिब १८ करोड ७५ लाख रुपैयाँ आम्दानी भएको जानकारी दिएका छन्। सो सम्पूर्ण रकम राष्ट्रिय आविष्कार केन्द्र तथा वीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि केन्द्रको खातामा जम्मा गरिएको उनले बताएका छन्।



















