Dhulikhel Eco Banner new

प्राथमिकताका साथ कृषिमा लगानी बढाउँदै राष्ट्रिय वाणिज्य बैंक

1.2K
shares

काठमाडौं, १६ वैशाख । राष्ट्रिय वाणिज्य बैंकले उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्ने नीति अनुरूप कृषि क्षेत्रमा कर्जा प्रवाहलाई उच्च प्राथमिकता दिएको जनाएको छ।

बैंकका अनुसार २०८२ चैत मसान्तसम्म कृषि क्षेत्रमा मात्रै ३९ अर्ब ५३ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरिएको छ। कृषक तथा कृषि उद्यमीलाई आकर्षित गर्न बैंकले आधार दरमा न्यूनतम प्रिमियम राख्दै सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ भने प्रशोधन शुल्कमा समेत छुट प्रदान गर्दै आएको छ।

कुखुरापालन, बाख्रापालन, गाई तथा भैंसीपालन, माछापालनलगायत विभिन्न कृषि परियोजनामा लगानी गर्दै आएको बैंकले पछिल्लो समय प्रदेशअनुसार विशेष कृषि उत्पादनलाई प्रोत्साहन गर्दै ४.७५ प्रतिशत ब्याजदरमा पाँच करोड रुपैयाँसम्म ‘प्रदेश विशेष कृषि कर्जा’ उपलब्ध गराउँदै आएको छ।

त्यसैगरी साना कृषकलाई लक्षित गर्दै बैंकले बिना प्रशोधन शुल्क ४.७५ प्रतिशत ब्याजदरमा १० लाख रुपैयाँसम्म ‘साना किसान सरल कर्जा’ प्रदान गरिरहेको छ। साथै किसानका लागि ‘किसान क्रेडिट कार्ड’ सुविधा पनि सञ्चालनमा रहेको बैंकले जनाएको छ।

कृषि कर्जा व्यवस्थापनलाई प्रभावकारी बनाउन बैंकले छुट्टै कृषि कर्जा नीति तथा कार्यविधि लागू गर्नुका साथै केन्द्रीय कार्यालयमा कृषि तथा सामाजिक बैंकिङ विभाग स्थापना गरेको छ। दक्ष कृषि विज्ञहरूलाई परिचालन गर्दै देशभरका ७७ जिल्लामा रहेका ३१४ शाखामार्फत कृषि कर्जा सेवा विस्तार गरिएको बैंकले जानकारी दिएको छ।

बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्दै कृषिको यान्त्रिकीकरण र व्यवसायीकरणमा टेवा पुर्‍याउने लक्ष्य लिएको जनाएको छ। यसबाट उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा सकारात्मक प्रभाव परेको बैंकको दाबी छ।