Dhulikhel Eco Banner new

पश्चिम चितवन गाजरखेतीको ‘हब’

4.12K
shares

चितवन, १९ पुस । प्राङ्गारिक कृषि उत्पादनलाई बजारीकरण गर्ने उद्देश्यका साथ भरतपुर महानगरपालिका–१५ श्रीपुरका चार बिघा चार कट्ठा जमिनमा गाजरखेती गरिएको छ ।

रासायनिक मल र विषादीको प्रयोगबिना प्राङ्गारिक प्रक्रियाद्वारा किसान चन्द्रप्रसाद अधिकारी, महेन्द्र पौडेल र मोहनसिंह गुरुङले संयुक्तरुपमा१४ लाख लगानी गरेर भाडाको जग्गामा गाजरखेती गरेका हुन् ।

विसं २०३२ देखि श्रीपुरमा गाजरलगायतका प्राङ्गारिक खेती गर्दै आएका कृषक अधिकारीले तत्कालिन समयमा ५० ग्राम बीउ रोपेर गाजरको खेती सुरु गरेका अनुभव सुनाए । उनले भने, “खास गरेर यहाँ २०३२ सालदेखि गाजर खेती गर्न सुरु गरेको हो ।

त्यसपछि क्रमिकरुपमा अरु साथीहरु पनि गाजर खेतीमा अग्रसर हुनुभयो यसले गर्दा श्रीपुरलगायत पश्चिम चितवन गाजरको हबजस्तै बनेको छ ।” उनको अनुभवमा यो क्षेत्रमा गाजरको लागि उपयुक्त माटो र हावापानी छ । उनका अनुसार यहाँका धेरै किसानको अहिले आम्दानीको स्रोतको रुपमा गाजर खेती पनि एक हो ।

गाजर, मुला, चुकन्दर सलादका रुपमा प्रयोग गर्ने वस्तु भएको हुँदा स्वास्थ्यको हिसाबले पनि यसको उत्पादन प्राङ्गारिक प्रक्रियाले हुनुपर्ने उनको भनाइ छ । उनले भने, “यो पूर्ण सलादको रुपमा खाने हुँदा यसमा रासायनिक मल, विषादी प्रयोग नगरिकन प्राङ्गारिक उत्पादन गरौँ भनेर हामीहरु निरन्तर लागिरहेका छौँ ।” उनले गाजर खेतीलाई अझ व्यवस्थित बनाउन नसकेको बताए ।

विभिन्न सरोकारवाला निकायको साथ र सहयोग मिलेमा यस खेतीलाई अझ व्यवस्थितरुपमा गर्न सकिने उनको भनाइ छ । उनका अनुसार यो सँगै जिल्ला प्राङ्गारिक सङ्घअन्तर्गत १६÷१७ बिघामा जमिनमा गाजर र चुकन्दर खेती गरिएको छ ।

उनले यहाँ उत्पादन भएको एक सय टन गाजर र चुकन्दर अर्गानिक भ्यालीलाई दिने सहमति भएको र अन्य उत्पादन अर्गानिक बजारमा बिक्री गरिने बताए । उनले भने, “प्राङ्गारिक बजार बढेको छ सँगै किसानको सक्रियता पनि बढ्दै गएको छ ।”

प्राङ्गारिक प्रक्रियासँग गाजर खेती गर्दासँगै उम्रने झारको कारणले खर्च बढी आउने अर्का किसान गुरुङले बताए । उनले भने, “बिगौँ जमिनमा प्राङ्गारिक प्रक्रियाबाट गाजर लगाइएको छ खेतभरि गाजरको बिरुवालाई ढाँक्ने गरी झार आएको छ । प्राङ्गारिक पद्घतिमा बिषादी प्रयोग गर्ने कुरा भएन मानिसले गोड्दा खर्च बढ्ने भयो ।”

गाजर गोडाइको खर्च कम गर्नका लागि विषादीलगायतका हर्बिसाइटको प्रयोग बढेको जनाउँदै सिधै सलादको रुपमा खाने वस्तुमा यसको विकल्प हुनपर्छ भन्ने मान्यता आफूहरुको रहेको उनको तर्क छ ।

त्यसैगरी किसान पौडेलले गाजर खेतीमा रोग र किराको समस्या नभएको बताए । उचित व्यवस्थापन भएको खण्डमा उत्पादनको हिसाबले १५ देखि २० क्विन्टल प्रतिकट्ठा गाजर उत्पादन गर्न सकिने उनको भनाइ छ ।  मङ्सिर पहिलो सातामा रोपिएको गाजर फागुनको अन्तिम सातामा तयार हुने उनले बताए ।