Dhulikhel Eco Banner new

कोठा खोजिदिने नाममा खुलेआम ठगी धन्दा

महानगर भन्छ– उजुरी आएकै छैन

9.4K
shares

काठमाडौँ, १८ पुस । सुनसरी घर भएका गणेश विश्वकर्मा(नाम परिवर्तन)ले काठमाडौंको मैतिदेवी आसपास बस्न डेरा खोजे । उनले आफैले कोठा नपाएपछि केही वर्ष देखि काठमाडौँमै बसिरहेका चिनजानका एक दाईलाई गुहारे । विश्वकर्माले गुहारेका दाईले आफैले त होईन तर उनलाई कसैको फोन नम्बर दिए ।

चिनेका दाईले दिएको नम्बरमा विश्वकर्माले फोन गरेर आफुले बस्नलाई कोठा खोजेको कुरा बेली विस्तार लगाए । उताबाट आफुले रुम खोजिदिने बाचा गरेर अहिले तुरुन्त भेट्न पुरानो बानेश्वरमा बोलाए ।

केही समय अगाडि मात्र काठमाडौँ आएकाले विश्वकर्मालाई धेरै ठाउँको बारेमा थाहाँ थिएन । तर, पनि उनी सोध्दै खोेज्दै फोनमा कुरा भएका व्यक्ति भए ठाउँ पुगी छाडे । भेट भएपछि ति व्यक्तिले आफुले धेरैलाई कोठा खोजिदिएको बताए । तर, कोठा खोजिदिए बापत २५ सय रुपैयाँ भने आफुले लिने विश्वकर्मालाई बताए ।

धेरै दिन देखि कोठा नपाएर हैरान भएका विश्वकर्मा आफुले भनेजस्तो कोठा पाएमा ति कोठा खोजिदिने व्यक्तिले भने जति पैसा दिन समेत तयार भए । ति व्यक्तिले आफ्नो मध्य बानेश्वरमा दर्ता गरेर नै कोठा खोज्ने फर्म रहेको बताए ।

विश्वकर्माका अनुसार त्योसँग सम्बन्धित कागजपत्र पनि ति व्यक्तिले देखाएका थिए । त्यति देखेपछि विश्वकर्माले पनि उनलाई विश्वास गरे । कोठा खोज्ने व्यक्तिले भेट भएको दिन विश्वकर्मालाई ३ वटा कोठा पनि देखाए । त्यसमध्ये उनलाई एउटा कोठा मनपरेको थियो । तर, त्याहाँ बसिरहेको मान्छे एक हप्ता पछि मात्र कोठा खाली हुने भयो ।

अन्यत्र देखाएको कोठा कुनै राम्रो नभएकाले विश्वकर्मा बस्न मानेनन् । त्यो भएपछि ति कोठा खोजिदिने व्यक्तिले ७ दिन भित्र कोठा खोजिदिने बाचा गरे । तर त्यसको लागि विश्वकर्माले उसलाई ५ सय रुपैयाँ एडभान्समा दिनुपर्ने भयो ।

सातै दिन भित्र आफुले भनेजस्तो कोठा पाउने भएपछि विश्वकर्मा पनि ‘पछि भएपनि पैसा तिर्नु नै पर्ने हो, अहिले अलिकती दिदा के भयो र ?’ भनेर ५ सय रुपैयाँ बुझाए ।

विश्वकर्माले पैसा बुझाएको एक महिना हुन लाग्यो तर उनलाई ति कोठा खोजिदिने व्यक्तिले अहिले सम्म कोठा खोजिदिएका छैनन् । विश्वकर्माले अहिले फोन गर्दा कहिले कहा छु त कहिले कहा भन्दै टारीरहेका छन् । विश्वकर्मा आफु ठगीएको भन्दै गुनासो गर्छन् ।

‘चिनेकै दाईले भनेकाले मैले पनि विश्वास गरे तर, त्यस्तो न हुदो रहेछ, मेरो पैसा त्यतिकै गयो’, विश्वकर्मा भन्छन्, ‘अहिले आफै रुम खोज्न हिडिरहेको छु ।’

विश्वकर्मा त नयाँ भए । काठमाडौंमै दशक बिताएका पनि ठगिएका छन् । काठमाडौंको मैतिदेवीमा बस्दै आएको उमेश आचार्य ( नामपरिवर्तन)लाई बसिरहेको घर साँघुरो भयो । उनलाई सुविधा सम्पन्न फ्लाट चाहिने भएपछि उनी त्यसको खोजिमा लागे ।

अहिले मान्छेलाई प्रविधिले धेरै सहज बनाइदिएको छ । अनलाइनमै पोख्त उमेशले पनि फेसवुकमा भएको मार्केटप्लेसको सदुपयोग गर्ने विचार गरे । फेसवुकमा रहेको मार्केटप्लेसमा कार, मोटसाइकल खरिद गर्नदेखि घरजग्गा किन्न वा भाडामा लिन वा दिनका लागि विज्ञापनको सुविधा दिएको छ । फेसवुकको यो फिचर प्रयोग गरेर उमेशले फ्लाट खोज्न थाले ।

उनको फेसवुक मार्केटप्लेसमा एकदिन ४ वटा ठूला–ठूला कोठा भएको राम्रो फ्लाट मात्र १८ हजारमा भन्ने पोस्ट आयो । त्यसपछि उनले आफू लिन इच्छुक रहेको अटोमेटेड मेसेज छाडे । उताबाट पनि अटोमेटेड मेसेज आयो, फ्लाट लिन चाहानु हुन्छ भने फोन गर्नुस् ।

नम्बर पाएपछि धेरै पटक फोन गरे तर लागेन । फोन नै लाग्दैन भनेर मेसेज गरेपछि उताबाट मेसेज आयो, ‘कल ब्याक आउछ’ । नभन्दै कल ब्याक आयो । डेरा चाहिएको भए अफिसमा आएर फर्म भर्नुपर्छ । अफिस चाहिँ चावाहिलमा छ ।

उमेशका अनुसार मोवाइल नम्बर ९८२७४६४०५२ मा फोन आएको थियो । फोनमा महिला बोलेकी थिइन् । ति महिलाले अनलाइनबाटै फर्म भर्न मिल्ने बताइन्, त्यस वापत १ हजार रुपैयाँ अनलाइनबाटै भुक्तानी गर्नुपर्ने रहेछ । उनले सोही अनुसार १ हजार क्यूआरमार्फत पठाए र फर्म भरे । मानव कल्याण सेवा नामको खल्ती एकाउन्टमा पैसा गयो । उताबाट केही नम्बरहरु पनि आए ।

‘सुरुमा घरबेटीको भनेर एउटा नम्बरमा फोन गरेँ, उताबाट कहाँ कोठा हुनु फटाहाहरुले त्यसै नम्बर दिन्छन् भनेर जवाफ आयो’ उनले भने, ‘उताबाट १ हजार तिरेर पाएको नम्बरमा सबैमा फोन गर्दा कसैको नलाग्ने कसैको लागे पनि त्यस्तै जवाफ आउने ।’

यो क्रमले उमेश हैरान भए । त्यसपछि एक हजार तिरेको नम्बरमा फोन गरे फोन लाग्दैन । ह्वाट्स एपमा नम्बरहरु पठाइएको थियो, अहिले त उनको मेसेज सिन समेत हुँदैन । बल्ल बुझे उमेशले आफू त ठगिएको रैछ ।

बाँकेकी रश्मी वली पनि तेसरी नै कोठा खोज्ने नाउमा ठगीएकी छिन् । उनले पनि केही महिना अगाडि कोठा खोज्न १ हजार रुपैया तिरेकी थिईन् । तर उनले भनेजस्तो कोठा नपाएपछि अफैले दिन रात लगाएर कोठा खोजेर पेप्सीकोलामा बसिरहेकी छिन् ।

सप्तरीका रवीन गिरी पनि त्यसरी नै कोठा खोज्ने नाउमा ठगीएका छन् । उनी भक्तपुरको बालकोमा बस्तै आएका थिए । उनलाई बानेश्वर आसपासमा रुम चाहिएको थियो । त्यो विचमा शान्तिनरमा भएको ‘कोठा खोजिदिने पसल’मा पुगे । त्याहाँ उनले कोठा खोजिदिन ५ सय रुपैयाँको फर्म भरे ।

फर्म भरेपछि उनलाई केही नम्बरहरु पनि दिईएको थियो । त्यो नम्बरमा फोन गरेर रुम हेर्न जादा एउटा पनि गतिलो रुम थिएन । गिरी धेरै भौतारीए तर रुम भनेजस्तो भेटेनन् । पछि आफ्नो साथिले भनेपछि कोठा सरेका थिए । उनको त्यो ५ सय रुपैयाँ तेतीकै गयो ।

यि त प्रतिनिधि पात्र मात्र हुन् । काठमाडौँमा कोठाको खोजिमा दैनिक हजारौँ व्यक्तिहरु ठगीने गरेका छन् । कोठा खोजिदिने मान्छे र विभिन्न नामका पसलहरुले दैनिक हजारौँ व्यक्तिहरु ठगीरहेका छन् ।

काठमाडौं महानगरपालिकाको अनुसार महानगरमा मात्र ६० हजार भन्दा बढी घरहरु छन् । तर ति घरहरुमा कति व्यक्ति डेरामा बस्छन् भन्ने एकीन तथ्याङ्क भने महानगरसँग समेत छैन ।
‘महानगरमा ६० हजार जति घरहरु होलान्’, काठमाडौँ महानगरका प्रवक्ता नविन मानन्धर केटिएम भ्वाईससँग भने, ‘तर, त्यहाँ कति व्यक्ति भाडामा बस्छन् त्यो थाहाँ छैन । हामीले सोध्दा घरबेटीले पनि भन्दैनन् ।’

तर, प्राय सवै घर भने भाडामा लगाएकै हुन्छन् । तरपनि डेरा पाउन कठिन छ । त्यसको फाइदा उठाउँदै डेरा खोजिदिने नाउमा आम सर्वसाधरण ठगीरहेका छन् । एउटा साधारण कोठा खोजिदिएको एक हजार देखि ३ हजार सम्म लिने गरेका छन् । झन फ्ल्याट नै खोज्नु पर्यो भने त ५ हजार देखि ८ हजार वा त्यो भन्दा बढी पनि लिने गरेका छन् । पैसा तिरेर पनि डेरा खोजिदिए त ठिकै थियो, ठगेर भाग्ने गरेका छन् ।

यसरी आम सर्वसाधरण ठगीरहेको नेपाली उपभोक्ता संरक्षण महासंघ (एफएनसिपी)का केन्द्रीय अध्यक्ष चन्द्र साउद पनि आपत्ति जनाउछन् । सर्वसाधारण ठगीएको विषयमा सम्बन्धित निकायलाई ध्यानकर्षण जगाउने समेत साउद बताउँछन् ।

‘कोठा खोजिदिने नाममा उपभोक्ताहरु ठगीरहेका छन्’, अध्यक्ष साउदले केटिएम भ्वाईससँग भने, ‘हामी यो विषयमा सम्बन्धित निकायको ध्यानर्कषण गराउछौँ ।’

महानगरमा उजुरी गरे कारबाही हुने
काठमाडौँ महानगरपालिकामा उजुरी गरेमा कोठा खोजीदिने नाममा मनपरी शुल्क लिनेलाई कारबाही गर्ने महानगरले बताएको छ । ‘हामीलाई अहिले सम्म कोठा खोज्ने नाममा ठगीएका छौँ भनेर उजुरी आएको छैन’, काठमाडौँ महानगरका प्रवक्ता मानन्धरले भने, ‘यदि उजुरी आएमा हामी कारबाही गछौँ ।’

विना आधार कुनै एक्सन लिन नमिल्ने यदि त्यसरी ठगीएको भए उजुरी गर्ने समेत महानगरले आग्रह गरेको छ । ‘हामीले पनि विना प्रमाण केही गर्न मिल्दैन’, प्रवक्ता मानन्धर भन्छन्, ‘उजुरी गरेमा तुरुन्त अनुगमन गछौँ ।’

काठमाडौँको महानगरमा आएर उजुरी दिन सकिने महानगरको भनाई छ । ‘महानगर खुलेको समयमा त्यसरी ठगीएका व्यक्तिले कार्यालय समयमा आएर उजुरी दिन सक्नुहुन्छ’, मानन्धरले भने ।