Dhulikhel Eco Banner new

६ महिनामा संघीय सरकारको खर्च ५६६ अर्ब ६२ करोड, ७ प्रदेशको कति ?

5.25K
shares

काठमाडौं, २३ माघ । आर्थिक वर्ष २०८०÷८१ को ६ महिनामा नेपाल सरकारको कुल खर्च ५६६ अर्ब ६२ करोड रुपैयाँ भएको छ । नेपाल सरकार, अर्थ मन्त्रालय, महालेखा नियन्त्रक कार्यालयका अनुसार उक्त खर्च गत वर्षको सोही अवधिको तुलनामा १.७ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा चालु खर्च ४३७ अर्ब ३८ करोड, पँुजीगत खर्च ४९ अर्ब २४ करोड र वित्तीय व्यवस्था खर्च ८० अर्ब रुपैयाँ रहेको छ ।

पुस मसान्तसम्ममा ७ प्रदेश सरकारको कुल खर्च ४० अर्ब ८८ करोड र स्रोत परिचालन ८६ अर्ब ५ करोड रुपैयाँ रहेको छ । प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी ६४ अर्ब ४१ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व २१ अर्ब ६४ करोड रहेको छ ।

नेपाल सरकारको कुल राजस्व परिचालन (प्रदेश सरकार तथा स्थानीय सरकारमा बाँडफाँट हुने रकमसमेत) ४९६ अर्ब ५० करोड भएको छ । गत आर्थिक वर्षको पहिलो ६ महिनामा १५.३ प्रतिशतले घटेको राजस्व, समीक्षा अवधिमा ८.२ प्रतिशतले बढेको छ । यस अन्तर्गत कर राजस्व ४४३ अर्ब ५५ करोड र गैर कर राजस्व ५२ अर्ब ९५ करोड परिचालन भएको छ ।

२०८० पुस मसान्तमा राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खातामा २३६ अर्ब ७१ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात ६५ अर्ब ३६ करोड रहेको थियो ।