Dhulikhel Eco Banner new

महिला उद्यमी मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता

4.34K
shares

तनहुँ, २६ फगुन । तनहुँको दमौलीमा शुक्रबारदेखि सुरु भएको महिला उद्यमी मेलामा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । महिला उद्यमी सङ्घ तनहुँको आयोजनामा दमौलीको खुला मैदानमा सुरु भएको मेलामा तनहुँका अतिरिक्त मुस्ताङबाटसमेत महिला उद्यमीले स्थानीय उत्पादन बिक्रीवितरणका लागि ल्याएका छन् ।

मेलामा तनहुँभित्रका सङ्घमा आबद्ध विभिन्न इकाइबाट महिलाका अतिरिक्त मुस्ताङको घरपझोङ गाउँपालिका–३ बाट स्थानीय उत्पादन बिक्री वितरणका लागि ल्याइएको छ । मार्फा, फलफूल तथा तरकारी प्रशोधन उद्योगका सञ्चालक सुकुना रसाइलीले मुस्ताङमा उत्पादित विभिन्न सामग्री बिक्री वितरण तथा प्रदर्शनीका लागि ल्याएको जानकारी दिए ।

रसाइलीका अनुसार सिस्नोको पाउडर, जिम्बु, आलुको चिप्स, रातो मकै, टिमुरको छोप, स्याउको जुस बिक्रीका लागि राखिएको छ ।

मेलामा हालै मात्र सीप सिकेर साबुन बनाएका महिलाले झोल साबुन बिक्रीका लागि राखेका छन् । म्याग्दे गाउँपालिकाको सहयोगमा सीप सिकेका महिलाले आत्मनिर्भर बन्दै आयआर्जनका लागि झोल साबुन बिक्रीका लागि राखेका हुन् । मेलामा व्यास नगरपालिका–११ महिलाले थाकलबाट बनाइएको टोपी प्रदर्शन तथा बिक्रीका लागि राखेका छन् ।

अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर सङ्घले पहिलो पटक व्यापार प्रदर्शन एवं प्रवर्द्धन मेला आयोजना गरेको हो । महिला उद्यमीले उत्पादन गरेका सामग्री बिक्री वितरण गर्ने उद्देश्यसहित मेला आयोजना गरिएको सङ्घकी अध्यक्ष निर्मला मल्लले जानकारी दिइन् । उनका अनुसार मेलामा ५० स्टल रहेका छन् ।

मेलामा होजियारी, हस्तकला, कृषिजन्य सामग्री बिक्री वितरणका स्टल रहेका छन् । मल्लका अनुसार बाहिरबाट खरिद गरेर ल्याइएका सामग्री बिक्री वितरण गर्न नपाइने र स्थानीयस्तरमा उत्पादित वस्तुमात्रै बिक्री गर्न पाइनेछ ।

तीन दिनसम्म चल्ने मेलामा करिब ४० हजार दर्शक रहने आयोजकको अनुमान छ । मेला सम्पन्न गर्नका लागि करिब सात लाख खर्च हुनेछ । लोप हुँदै गएका परम्परागत सामग्रीको पहिचान र बजारीकरणका लागि मेलाले सहयोग पुग्ने महिला उद्यमी सङ्घ दुलेगौंडा इकाई अध्यक्ष तुलसी शाहले बताइन् ।