Dhulikhel Eco Banner new

५० लाख खर्चेर स्वयम्भू महाचैत्यको मूल छत्रको जीर्णोद्धार

3.87K
shares

काठमाडौं, ३ चैत । विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्यको मूल छत्र–गजुर ५० लाखको लागतमा जीर्णोद्धार गरिएको छ।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले गजुरको जीर्णोद्धार गरेको हो।

काठमाडौं–१५ मा रहेको महाचैत्यको पुरातत्व विभाग, काठमाडौँ महानगरपालिका, जिल्ला प्रशासन कार्यालय र गुठी संस्थानले जीर्णोद्धारका लागि प्राविधिक अध्ययन गरेका थिए।

यही चैत ५ गते धार्मिक परम्पराअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले चैत्यको पूजा गर्ने कार्यक्रम रहेको महासमितिका अध्यक्ष भिक्षु धर्ममूर्ति महास्थवीरले जानकारी दिए।

उक्त चैत्य एक सय ६ मिटर अग्लो छ। गजुरमा सुनको जलप लगाइएको छ। गजुरसँगै हर्मिका, छत्राबलि र १३ भुवन पनि सिँगारिएको छ।

महाचैत्यको कलाकौशल, बनोटको अध्ययन तथा अवलोकन गर्न स्वदेशी र विदेशी पर्यटक आउने गरेको महासमितिका इन्जिनियर राजेश सुवालले जानकारी दिए।

चैत्यको आसपास रहेको अनन्तपुर र प्रतापपुर यसअघि जीर्णोद्धार भइसकेका छन्। मन्दिर क्षेत्रबाट काठमाडौँ उपत्यका राम्रोसँग देख्नसक्ने भएकाले आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्।