Dhulikhel Eco Banner new

श्रमिकको पुनः एकीकरणका लागि स्विट्जरल्यान्ड सरकारको ८६ करोड सहयोग

5.54K
shares

वैदेशिक रोजगारबाट स्वदेश फर्केका श्रमिकलाई पुनः एकीककरण गर्ने कार्यक्रम सञ्चालन गर्न स्विट्जरल्यान्ड सरकारले आर्थिक सहायता उपलब्ध गराउने भएको छ । अर्थमन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा सोसम्बन्धी सम्झौतापत्रमा नेपाल सरकार र स्विट्जरल्यान्ड सरकारका अधिकारीबीच हस्ताक्षर भएको हो ।

सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थमन्त्रालयको अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखाका प्रमुख ईश्वरीप्रसाद अर्याल र काठमाडौंस्थित स्विट्जरल्यान्ड दूतावासका चार्ज डी अफेयर्स सिल्भाना होगले हस्ताक्षर गरे । सम्झौताअनुसार प्रदेश नं १ र मधेश प्रदेशका २० स्थानीय तहमा पुनः एकीकरण कार्यक्रम सञ्चालन गर्न स्विट्जरल्यान्ड सरकारले करिब ८६ करोड १३ लाख उपलब्ध गराउने छ ।

उक्त सहयोग नेपाल सरकारको खर्च प्रणालीबाट कार्यान्वयनमा जानेछ । स्वदेश फिर्ती आप्रवासी श्रमिकलाई सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक क्षेत्रमा पुनः एकीकरण गर्न परियोजनाले सघाउ पुर्याउनेछ । वैदेशिक रोजगारबाट फर्केका श्रमिकको पुनः एकीकरण गरी उनीहरुसँग भएको ज्ञान, सीप, पूँजी, अनुभवको सदुपयोग गर्दै मुलुकको विकासमा लगाउने परियोजनाको मुख्य उद्देश्य रहेको अर्थमन्त्रालयले जनाएको छ । उक्त परियोजना जुलाई २०२२ बाट शुरु भएर पाँच वर्षसम्म चल्नेछ ।

सो अवसरमा अर्थ मन्त्रालयका सहसचिव अर्यालले वैदेशिक रोजगारबाट फर्केका श्रमिकलाई समाजमा पुनः एकीकरणका लागि सो परियोजना अत्यन्त महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । परियोजनाले घरफिर्ती आप्रवासी श्रमिकको सामाजिक, राजनीतिक तथा आर्थिक जीवनमा परिवर्तन ल्याइने उनको भनाइ छ । सहसचिव अर्यालले नेपालको आर्थिक सामाजिक विकासमा आप्रवासी श्रमिकको ज्ञान, सीप, पूँजी र अनुभवको सदुपयोग हुने बताए । उनले विकास सहायताका लागि स्विट्जरल्यान्ड सरकारप्रति आभार प्रकट गरे ।