Dhulikhel Eco Banner new

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक, सबै यथावत (पूर्णपाठ)

2.68K
shares

काठमाडौं, १४ मंसिर । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिले गरेका सबै व्यवस्थालाई यथावत् राख्दै मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको हो ।

गत साउनमा सार्वजनिक मौद्रिक नीतिको कार्यदिशालाई नै निरन्तरता दिइएको छ । सो नीतिबाटै मूल्य स्थिरता तथा बाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको गरिएको राष्ट्र बैंकले जनाएको छ ।

चालु आवको मौद्रिक नीतिले मुद्रास्फीतिलाई ५.० प्रतिशतको हाराहारीमा राख्ने गरी मौद्रिक व्यवस्थापन गर्ने नीति लिइएकोमा पहिलो ३ महिनाको औसत उपभोक्ता मुद्रास्फीति ४.२६ प्रतिशत रहेको छ । २०८१ असोज महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धि ७.१८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धि ३.४९ प्रतिशत रही वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ ।

मौद्रिक नीतिमा उल्लिखित ब्याजदर करिडोरको माथिल्लो सीमाको बैंकदरलाई ७ प्रतिशतबाट ६.५ प्रतिशत र नीतिगत दरलाई ५.५ प्रतिशतबाट ५.० प्रतिशत कायम गर्ने नीतिगत व्यवस्था कार्यान्वयनमा आएको छ । आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रयमासमा बैंक तथा वित्तीय संस्थाहरुको भारित औसत अन्तरबैक दर ३.०० प्रतिशत रहेको छ ।

यसैगरी कम्तिमा ७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने मौद्रिक नीतिको लक्ष्य रहेकोमा २०८१ असोज मसान्तमा १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी विनिमय सञ्चिति रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ मा विस्तृत मुद्राप्रदाय १२.० प्रतिशत र मौद्रिक क्षेत्रबाट निजी क्षेत्रतर्फ प्रवाह हुने कर्जा १२.५ प्रतिशतसम्मले वृद्धि हुने प्रक्षेपण गरिएकोमा वार्षिक बिन्दुगत आधारमा २०८१ असोज मसान्तमा विस्तृत मुद्राप्रदाय १३.३ प्रतिशत र निजी क्षेत्रतर्फको कर्जा ६.२ प्रतिशतले वृद्धि भएको छ ।