आठ महिनामा पाँच अर्ब ३४ करोड राजस्व संकलन
वि.सं.२०८१ चैत १४ बिहीवार १०:२६
shares

काठमाडौं, १४ चैत । कैलाली भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/०८२ को आठ महिनामा पाँच अर्ब ३४ करोड १९ लाख रुपैयाँ बराबर राजस्व संकलन गरेको छ । कार्यालयले चालु आवको साउनदेखि फागुन मसान्तसम्म उक्त राजस्व संकलन गरिएको जनाएको छ ।
कार्यालयका सूचना अधिकारी खिमप्रसाद अर्यालका अनुसार यस अवधिमा भन्सार महसुलतर्फ दुई अर्ब ५९ लाख, मूल्य अभिवृद्धि करतर्फ दुई अर्ब ४१ लाख, अन्तःशुल्कतर्फ १३ करोड ८२ लाख र अन्यतर्फ एक अर्ब १९ करोड ३५ लाख राजस्व संकलन गरिएको हो ।
चालु आवमा ११ अर्ब १६ करोड २६ लाख राजस्व संकलनको वार्षिक लक्ष्य रहेकामा आठ महिनामा सो लक्ष्यको ४७ दशमलव ८६ प्रतिशतमात्रै संकलन भएको उउनले जानकारी दिए ।
चालु आवको साउनमा ५७ करोड ५० लाख, भदौमा ५३ करोड ८४ लाख, असोजमा ६७ करोड २४ लाख र कात्तिकमा ६२ करोड ७८ लाख राजस्व संकलन भएको छ ।
यस्तै, मङ्सिरमा ८१ करोड १३ लाख, पुसमा ६५ करोड ८७ लाख, माघमा ७३ करोड दुई लाख र फागुनमा ७२ करोड ७६ लाख राजस्व संकलन भएको सूचना अधिकारी अर्यालले बताए ।
उनले बढी राजस्व संकलन हुने पेट्रोलियम पदार्थलगायत वस्तुको आयात घटेको र यस्तै अन्य कारणले पनि राजस्व संकलनको लक्ष्य हासिल गर्न नसकिएको जानकारी दिए ।
कार्यालयले गत आव २०८०/०८१ मा पनि राजस्व संकलन लक्ष्य पूरा गर्न सकेको थिएन । गत आवमा ११ अर्ब ५८ करोड २४ लाख वार्षिक राजस्व संकलनको लक्ष्य तोकिएकामा सात अर्ब ९१ करोड ८० लाख मात्र संकलन भएको थियो । जुन वार्षिक लक्ष्यको ६८.३६ प्रतिशत मात्र हो ।

















