Dhulikhel Eco Banner new

नेपाली फिल्म ‘झिल्को’ शुक्रवारदेखी देशभर प्रदर्शनमा

7.12K
shares

काठमाडौं, १९ वैशाख । नेपाली चलचित्र ‘झिल्को’ शुक्रबारदेखि देशभर एकैसाथ प्रदर्शनमा आएको छ । ११६ वटा शोमार्फत विभिन्न हलमा प्रदर्शन सुरु भएको फिल्मले बालबालिका र प्रविधिको सम्बन्धमा आधारित गहिरो सन्देश दिन खोजेको छ ।

चलचित्र ‘झिल्को’ को ग्रान्ड प्रिमियर बिहीवार साँझ काठमाडौंमा सम्पन्न भएको थियो । कार्यक्रममा उपसभामुख इन्दिरा राना मगर, बाल चिकित्सक, मनोविज्ञान परामर्शदाता, कलाकार तथा बालबालिकाको हितमा क्रियाशील विभिन्न अभियन्ताहरूको उपस्थिति थियो ।

उपसभामुख मगरले चलचित्रको विषयवस्तुलाई अत्यन्त महत्त्वपूर्ण बताउँदै भनिन्, “झिल्को प्रत्येक अभिभावकले आफ्ना बालबालिकासहित हेर्नैपर्ने चलचित्र हो । स्थानीय सरकारहरूले यसलाई विशेष चलचित्रको रूपमा देखाउने पहल गर्नु आवश्यक छ ।”

फिल्मले बालबालिकामाथि प्रविधिको लतले पारेको असर, अभिभावकीय बेवास्ता र त्यसबाट उत्पन्न पारिवारिक विखण्डनजस्ता संवेदनशील विषयवस्तु प्रस्तुत गरेको छ । चिकित्सक र परामर्शदाताहरूले पनि चलचित्रले यस्ता विषयमा जनचेतना फैलाउने महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

फिल्ममा बालिकाको मुख्य भूमिकामा आयुषी ढकाल देखिएकी छिन् । साथै, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठको समेत उल्लेखनीय अभिनय रहेको छ ।

‘झोला’ फिल्म निर्देशन गरेर ख्याति कमाएका यादवकुमार भट्टराईले निर्देशन गरेको ‘झिल्को’ को पटकथा भट्टराई स्वयं, अरुणदेव जोशी र देव व्रतले तयार पारेका हुन् । फिल्मका कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन् ।