Dhulikhel Eco Banner new

भोटेकोशी–त्रिशूलीको बाढीले पुर्‍याएको क्षतिप्रति विश्व हिन्दु महासंघद्वारा दुःख व्यक्त

247
shares

काठमाडौं, ११ भदौ । हालै आएको आकस्मिक बाढी भोटेकोशी र त्रिशूली नदी हुँदै नेपाल प्रवेश गर्दा विभिन्न जिल्लामा ठूलो जनधनको क्षति भएको भन्दै विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रिय समितिले दुःख व्यक्त गरेको छ ।

महासंघकी अध्यक्ष अस्मिता भण्डारीले जारी गरेको विज्ञप्तिमा रसुवा, नुवाकोट, धादिङ, चितवन र नवलपरासीलगायतका जिल्लाका नदी तटीय बस्ती, सडक, पुल, विद्यालय, विद्युत् आयोजना तथा खेतीयोग्य जमिनमा बाढीले ठूलो क्षति पुर्‍याएको उल्लेख गरिएको छ । भण्डारीले प्राकृतिक विपत्तिबाट भएको मानवीय तथा भौतिक क्षतिले महासंघलाई गम्भीर रूपमा मर्माहत बनाएको बताउँदै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेकी छन् । उनले भनेकी छिन“विपद्मा परी ज्यान गुमाउनुभएका दाजुभाइ तथा दिदीबहिनीहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं।

घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ तथा बेपत्ता नागरिकहरूको तत्काल उद्धार होस् भन्ने कामना गर्दछौं,” महासंघले सीमा जोडिएका नदीमा भविष्यमा यस्ता विपद् दोहोरिन नदिन नेपाल र चीनबीच भरपर्दो सूचना आदानप्रदान तथा पूर्वसूचना प्रणाली तत्काल स्थापना गर्नुपर्नेमा जोड दिएको छ । त्यस्तै, विपद्को यस घडीमा सरकार, सामाजिक संघ–संस्था र आम नागरिकबीचको समन्वयलाई थप प्रभावकारी बनाएर उद्धार तथा राहत कार्यलाई तीव्रता दिनुपर्ने महासंघको भनाइ छ ।

अध्यक्ष भण्डारीले देश शोकमा रहेको अवस्थामा सबै नेपाली एकजुट भएर विपद् प्रभावित नागरिकको सहयोगमा जुट्न आग्रह गरेकी छन् । “देश दुखेको यस घडीमा सबै नेपाली एकजुट भई पीडितको सहयोगमा लाग्न हार्दिक अपिल गर्दछौं,” विज्ञप्तिमा भनिएको छ ।