Dhulikhel Eco Banner new

राजस्व बक्यौता असुल गर्न नसक्दा बेरुजु रकम ७ खर्ब नाघ्यो

3.56K
shares

काठमाडौं, ३१ वैशाख । सरकारी ढुकुटीमा असुल गर्न बाँकी रकम (बेरुजु) चुलिँदै गएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०र८१ सम्म कुल बेरुजु रकम ७ खर्ब ३३ अर्ब १९ करोड रुपैयाँ पुगेको हो।

यस मध्ये कारबाही गरेर टुंगो लगाउनुपर्ने बेरुजु मात्र ५ खर्ब ५१ अर्ब २ करोड रुपैयाँ छ। प्रतिवेदन अनुसार कुल बेरुजुमा सबैभन्दा ठूलो हिस्सा राजस्व बक्यौताको रहेको छ। राजस्व बक्यौता असुल नहुँदा बेरुजु रकमको ४ खर्ब ७२ अर्ब ३५ करोड रुपैयाँ यसैमा अड्किएको छ।

त्यस्तै, वैदेशिक स्रोतबाट प्राप्त हुने अनुदानमध्ये ६ अर्ब २५ करोड रुपैयाँ र वैदेशिक ऋणमा १४ अर्ब ३३ करोड रुपैयाँ अझै शोधभर्ना लिन बाँकी छ। यसैगरी, जमानतमा ऋण लिई तोकिएको म्यादसम्म फिर्ता नगरेको साँवा ब्याज ४९ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ। लेखा परीक्षणबाट देखिएको बक्यौता पनि ८ अर्ब ७१ करोड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।

महालेखा परीक्षकको प्रतिवेदनले सार्वजनिक निकायहरूको वित्तीय अनुशासन कमजोर भएको र राजस्व संकलन तथा लेखापरीक्षण प्रक्रिया प्रभावकारी नहुँदा राज्यको स्रोत संकटमा पर्ने चेतावनी दिएको छ।