बोर्डले भुक्तानी नदिएको भन्दै शिक्षण अस्पतालले गर्यो स्वास्थ्य बीमा कार्यक्रम स्थगित
बोर्ड भन्छ : रकम व्यवस्था गछौँ
वि.सं.२०७९ असार ४ शनिवार ०८:३७
shares

काठमाडौं, ४ असार । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रमलाई स्थगित गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेले सरकारको स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमवापतको रकम उपलब्ध नगराएकाले कार्यक्रम स्थगित गर्नु परेको बताएका हुन् ।
‘अस्पतालबाट संचालित स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बिमितको उपचार सेवा गरेवापतको रकम स्वास्थ्य बीमा बोर्डले उपलब्ध नगराएकाले असार १५ गतेदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गरिएको छ’, काफ्लेद्वारा जारी सूचनामा भनिएको छ । अस्पतालले २०७७ साल मंसिरदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो ।
बोर्डमा रकम अभाव भएका कारण केही समस्या भएको र अर्थमन्त्रालयसँग बजेट माग गरिएको स्वस्थ्य बीमा बोर्डका प्रवक्ता शम्भुप्रसाद ज्ञवालीले जानकारी दिए । शिक्षण अस्पतालमा बिमितको संख्या धेरै आएको र अस्पतालले कोटा सिस्टम लागू गर्ने जानकारी दिएको ज्ञवालीको भनाइ छ ।
अस्पतालले कोटा प्रणालीमा पुराना ६० जना र नयाँ ४० जनाको लागि मात्रै यो सुविधा दिने भनेको पनि उनले बताए । तर कोटा सिस्टम लागू गर्दा उपत्यका बाहिरबाट आउनेहरुलाई मर्का पर्ने उनको भनाइ छ ।
रकम व्यवस्था गर्ने तर्फ पहल भइरहेको अवस्थामा नै अस्पतालले सूचना जारी गरेको उनले बताए । २०७३/०७४ मा बाँकी रहेको रकम भुक्तानी गर्नु परेकाले पनि केही समस्या भएको उनले बताए । बोर्डले चालू आर्थिक वर्षको हालसम्म ५ करोड २६ लाख रुपमा भुक्तानी दिइसकेको र अपुग रकम अर्थसँग मागेर भुक्तानी दिने प्रवक्ता ज्ञवालीको भनाइ छ ।

















