रसुवा बाढीको असर: निर्जीवन बीमा कम्पनीमा झन्डै २६ अर्बको दाबी, अर्थमन्त्री भन्छन्- ‘भुक्तानीमा ढिलाइ नहोस्’
वि.सं.२०८३ भदौ १७ बुधवार ०९:४१
shares

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण भौतिक संरचना र आयोजनाहरूमा क्षति पुगेपछि निर्जीवन बीमा कम्पनीहरूमा करिब २६ अर्ब रुपैयाँ (२५ अर्ब ८७ करोड) को दाबी परेको छ। भदौ १५ गतेसम्ममा विभिन्न १५ वटा कम्पनीमा ५८३ वटा दाबी दर्ता भएको नेपाल बीमा प्राधिकरणले जनाएको छ। विपद्को यस घडीमा पीडितलाई तत्काल राहत महसुस गराउन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कागजी झन्झट कम गरी छिटो र छरितो रूपमा दाबी भुक्तानी गर्न कम्पनीहरूलाई कडा निर्देशन दिएका छन्।
प्राधिकरणको तथ्यांक अनुसार बाढीले सबैभन्दा ठूलो धक्का जलविद्युत् र निर्माण क्षेत्रलाई हानेको छ। कुल दाबीमध्ये इन्जिनियरिङ तथा ठेक्का जोखिम अन्तर्गत मात्रै साढे २० अर्ब रुपैयाँको मागदाबी छ। त्यस्तै, सम्पत्ति बीमातर्फ २ अर्ब ३४ करोड र मोटर बीमातर्फ १ अर्ब ५५ करोडको दाबी परेको छ। कम्पनीगत रूपमा हेर्दा ‘दि ओरिएन्टल इन्स्योरेन्स’मा मात्रै सर्वाधिक १३ अर्ब ४ करोड रुपैयाँको दाबी परेको छ भने युनाइटेड अजोड, सानिमा जीआईसी, सिद्धार्थ प्रिमियर लगायतका कम्पनीमा पनि अर्बौंको दायित्व थपिएको छ।
दाबी भुक्तानी प्रक्रियालाई सहज बनाउन साना रकमका दाबीलाई ‘फास्ट ट्र्याक’ बाट टुंग्याउने र जलविद्युतजस्ता ठूला आयोजनाको हकमा पूर्ण मूल्याङ्कन हुनुअघि नै तत्काल निश्चित रकम पेस्कीस्वरूप उपलब्ध गराउने निर्णय भएको छ। साथै, क्षतिको यकिन गर्न स्वचालित प्रणालीमार्फत सर्भेयर खटाउने र दाबी भुक्तानीका क्रममा आउने अड्चन फुकाउन प्राधिकरणमै विशेष कार्यदल बनाएर दैनिक अनुगमन गरिने व्यवस्था मिलाइएको छ।


















